नेप्सेमा ३७ करोडको कारोबार, ५ अंकले घट्यो

भाद्र २६, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले गिरावट आएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन आज बजार परिसूचक नेप्से ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ बिन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने हिजोको तुलनामा ३ करोड रुपैयाँले वृद्धि भएको छ ।

कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३४ दशमलव २५ अंकले घटेको छ । जीवन बीमा कम्पनी समूहको उपसूचक ३३ दशमलव ८६, होटल समूहको २४ दशमलव ५३ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक १८ दशमलव २१ अंकले घटेको छ ।

नेप्सेमा आज ३७ करोड ६१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भयो । कुल १ सय ६८ कम्पनीका ६ हजार ५ सय ९४ कारोबारबाट १५ लाख ५६ हजार ७ सय ९० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज लक्ष्मी बैंक लिमिटेड प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया