मलेसिया रोजगारीका लागि बाटो खुल्यो

भाद्र २६, २०७६ | काठमाडौं

नेपाल सरकारले सूचीकृत गरेका एक सय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न मलेसिया सरकारका प्रतिनिधि आगामी नोभेम्बर पहिलो साता काठमाडौं आउने भएका छन् । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन ।

दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ । नेपाल र मलेसियाका उच्च अधिकारीबीच क्वालालाम्पुरमा आज सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो ।

बैठक तीन दिनसम्म चलेको थियो । सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह–सचिव रामप्रसाद घिमिरे र मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसनले हस्ताक्षर गर्नुभएको छ । बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार, निरीक्षणमा पास हुने स्वास्थ्य संस्था मात्रै बायोमेडिकल प्रणालीमा समावेश हुनेछन् । 

बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेका थिए । मलेसियाले सुरुमा तत्कालको लागि ३६ वटा स्वास्थ्य संस्थाहरु नै प्रर्याप्त भएको भन्दै आवश्यकता अनुसार थप गर्दै जाने अडान राखेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियाको गतिरोध अबिलम्ब अन्त्य हुने प्रतिक्रिया दिदै मलेसियाको रोजगारीलाई सुचारु गर्ने वातावरण बनेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया