कर्मचारी सञ्चय कोषको नाफा ३ अर्ब ७५ करोड 

भाद्र ३१, २०७६ | काठमाडौं

गत आर्थिक बर्षमा कर्मचारी सञ्चय कोषको कुल वित्तीय श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको भन्दा ११ प्रतिशतले बढी हो । कुल स्रोतमध्ये ९८ प्रतिशत अर्थात ३ खर्ब ३८ अर्ब ६ करोड रकम विभिन्न क्षेत्रमा लगानी गरिएको कोषले जनाएको छ ।

कोषको ५८ औं वार्षिकोत्सवका अवसरमा कोषका प्रशासक तुलसीप्रसाद गौतमले गत वर्ष ऋण तथा लगानीबाट कुल २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । त्यसमध्ये ३ अर्ब ७५ करोड खुद मुनाफा भएको गौतमले बताउनुभयो । 

कोषले आˆनो मुनाफाबाट दायित्व व्यहोर्ने गरी विभिन्न चार वटा सामाजिक सुरक्षाका कार्यक्रम मार्फत गत आर्थिक वर्ष २१ हजार सञ्चयकर्तालाई १९ करोड ९७ लाख रुपैयाँ   सामाजिक सुरक्षा सुविधा वितरण गरेको जनाएको छ । 

बैंकहरुको सहवित्तीयकरणमा सहभागी भई यस वर्ष दुईवटा ठूला परियोजनाहरुमा लगानी गर्ने निर्णय पनि कोषले गरको छ । कोषले एक वर्षको अवधिमा नेपाल बैंक लिमिटेड, धितोपत्र विनिमय बजार लिमिटेड लगायत ४ वटा कम्पनीको शेयरमा लगानी गरेको छ । योसंगै कोषबाट शेयर लगानी भएका कम्पनीको संख्या २० पुगेको छ ।

लगानी गरेको न्यून प्रतिफल र लामो अवधिको करीब १२ अर्व ५० करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्रहरुलाई दोश्रो बजार मार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको कोषले जनाएको छ । 

कोषले आफ्ना सम्पूर्ण लगानी पूर्ण सुरक्षित रहेको बताएको छ । वायु सेवा निगमको वाईडबडी खरिदका लागि लिएको ऋणको सन्दर्भ जोड्दै कोषका प्रशासक गौतमले निश्कृय कर्जाको अंश अत्यन्तै न्यून रहेको र सम्पूर्ण लगानी सुरक्षित रहेको बताउनुभयो । 

कर्मचारी संचय कोषले योगदानमा आधारित निवृत्तिभरण प्रणाली कार्यान्वयनमा ल्याएको छ । कोषको ५८ औँ बाािर्षकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमकाबीच अर्थमन्त्री युवराज खतिवडाले निवृत्तभरण कोष व्यवस्थापनको सुरुवात गर्नुभयो ।

सो क्रममा अर्थमन्त्री खतिवडाले संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएसँगै कोषको परम्परागत भूमिका परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न ब्यवसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया