मकैमा फौजी कीराको प्रकोप, बाली सखाप 

आश्विन २५, २०७६ | स्याङ्जा

स्याङ्जाको गल्याङ् नगरपालिकाका विभिन्न स्थानमा लगाइएको बेमौसमी मकैमा फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराले मकै बाली नष्ट गर्न थालेपछि जिल्लाका किसान  समस्यामा परेका छन् ।

मकैको घोगा, डाठ र पातमा कीराले आक्रमण गर्दा बाली नै नष्ट भएको गल्याङ नगरपालिकाका पशु शाखा प्रमुख शुशील अर्यालले जानकारी दिनुभयो । मकै पसाउने बेला कीराले आक्रमण गरेका कारण ठूलो मात्रामा लगाइएको मकै उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।

नगरपालिकाको ९ नम्बर वडाको गेझा, टेक्रे, बेलचौर, जिमुहा लगायतका क्षेत्रमा किसानले लगाएको बाली कीराले नष्ट पारेका छन् । वरिष्ठ कृषि प्राविधिक शिव ढकालले निरीक्षणका क्रममा मकैमा फौजी कीराको प्रकोप देखिएको बताउनुभयो ।

निरीक्षणका क्रममा किसानलाई फौजी कीरा नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने औषधीबारे पनि जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका कृषि प्राविधिक सहितको टोलीले निरीक्षण गरी मकैमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणको प्रयास गरिएको नगरपालिकाका पशु शाखा प्रमुख अर्यालले बताउनुभयो । मकैका बोट ठूला भएपछि घोगा हाल्ने बेलामा यस्तो समस्या देखिएको प्राविधिक बताउँछन । 


प्रतिक्रिया