मकै मन पराउने फौजी कीरा

आश्विन २९, २०७६ | सुनसरी

प्रदेश १ का विभिन्न जिल्लामा लगाएको धान बालीमा फौजी कीराको प्रकोप बढेको छ । प्रदेश १ को बाली संरक्षण प्रयोगशालाका विराटनगरको अनुसार झापामा सबैभन्दा बढी फौजी कीराको प्रकोप देखिएको छ ।

बाली संरक्षण अधिकृत मुकेश कुमार यादवका अनुसार झापामा ४ सय २५ बिघा, उदयपुरमा ३ सय बिघा, सुनसरीमा ७५ बिघा र मोरङमा २० बिघामा फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराले धानबाली नष्ट पार्न थालेपछि जिल्लाका किसान चिन्तित छन् । धान काटेर भित्र्याउने समयमा कीराले बाली नष्ट गर्न थालेपछि किसानहरु समस्यामा परेका छन् । 

धरान उपमहानगरपालिकाको साविकको पाँच कन्या गाविस हाल वडा ५ र १७, बराहक्षेत्र नगरपालिकाको वडा २ मा पर्ने जब्दी, वडा ३ मा पर्ने बीचपानी र वडा ९ मा पर्ने हिडोल्वा, बराहक्षेत्र नगरकै छिमेकी नगरपालिका कोशी पारी उदयपुरको बेलका नगरपालिकाको विभिन्न वडामा पनि फौजी कीराले धान बाली सखाप पारेको छ ।

बेलका नगरपालिकाको विभिन्न वडा, झापाको गौरादह नगरपालिका, कनकाई नगरपालिका, झापा गाउँपालिका र कचनाकवल गाउँपालिकामा पनि यस्को प्रकोप बढेको छ । झापामा देखिएको फौजी कीरा भने नियन्त्रणमा ल्याएको बाली संरक्षण प्रयोगशालाका विराटनगरले दाबी गरेको छ ।

फौजी कीराको प्रकोप बढेपछि धरान ५ र १७ वडाका खेतमा बुधबार तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका कीट वैज्ञानिक किशोर भण्डारी र धरान उपमहानगरपालिका कार्यबाहक प्रमुखले स्थलगत अवलोकन गरेका थिए । फौजी कीराले सखाप पारेका धानबाली अवलोकन गरेपछि कीट वैज्ञानिक भण्डारीले धरान क्षेत्रमा देखिएको फौजी कीरा मध्ये वडा १७ मा अमेरिकन फौजी कीरा स्पोडोप्टेरा फ्रुजीपेरडा भएको र वडा ५ मा देखिएको किरा रैथाने मिथिम्ना सेपाराटा प्रजातिको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रैथानले ले पाकेको धानको कलिलो बाला खाइदिन्छ भनेर अमेरिकनले हरियो बाली नै सबै खाइदिन्छ । फौजी कीराको प्रकोप पछि धरान ५ र १७ का किसानहरुले कीराको प्रकोप रोकथाम र नष्ट भएको अन्नबालीको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन् । स्थानीय कृषक शुक्रबहादुर लिम्बुले आफ्नो खेतमा उत्पादन भएको धानले वर्ष भरी पुर्‍याउने गरेकोमा यसपटक फौजी कीराको प्रकोपले एक महिना पनि खान नपुग्ने भएको बताए ।

कार्यबाहक भण्डारीले राहतको लागि पहल गर्ने बताउनुभयो । बराहक्षेत्र नगरका धान खेतमा तीनदिन अघि मात्र फौजी कीराको प्रकोप देखिएको हो । सामान्यतया फल आर्मीबम (एफएडब्लु) भनिने फौजी कीरा गर्मी महिनामा एकरातमै सय किलोमिटरको दूरी पार गर्न सक्ने कृषि तथा कीट विज्ञहरुले बताएका छन् । फौजी कीरा पुतली समूहमा पर्छ ।

रातको समयमा बढी सक्रिय हुने सो कीराले धानबाली सखाप पारेपछि रुनु न हाँस्नु भएको बराहक्षेत्र नगर स्थित भरौल किसान समूहका सदस्य लक्ष्मी गुरागाईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले यो वर्ष एक बिघामा धान खेती गरेकोमा ९ कट्ठामा लगाएको नयाँ जातको धानबाली पाकेर काट्ने बेलामा सखाप भएको छ । कता गएर कस्लाई क्षतिपूर्ति माग्ने अब ? के खाने ?’

उहाँले ११ कट्ठामा अलिक ढिलो पाक्ने मन्सुली जातको धान लगाएकाले ती हरियै भएकाले त्यहाँ फौजी कीराले आक्रमण गर्न नभ्याएको तर, चाडो फल्ने उन्नत जातको धानबाली लगाएका खेतमा धानको नलमात्र रहेको बताउनुभयो । खेती किसानी गर्नेका लागि घरपरिवारको जीविका चलाउन, छोरा छोरीको स्कूल फिस, आवश्यक औषधी उपचार, लत्ता कपडा धान बेचेर आएको रकमले टार्ने गर्छन् ।

समूहका अगुवा मुक्तिराम राईले बराह क्षेत्रका सयौं बिघामा फौजी कीराको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरौल बीच पानीका अधिकांश किसानका पाक्न लागेका धानबाली अहिले नल मात्र छ । धान जति सखाप भएका छन् । राति ती कीराले खाए खेतमा खसेका धानका बाला खेतमै बटुलेर कतिपय किसानले घरमा लगेका छन् ।’

बराहक्षेत्र नगरपालिकामा स्थानीयले लगाएको धानखेतीमा फौजी कीराले सखाप पारेको कृषि विकास शाखाका प्राविधिक निरबहादुर राईले बताउनुभयो । मंगलबार स्थानीय कृषकहरुले फौजी कीराको प्रकोपबारे जानकारी गराएपछि बराहक्षेत्र नगर उपप्रमुख कमला मगरको नेतृत्वमा कृषि शाखाका प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेका थिए । कृषक तीर्थ बिकले फौजी कीरोको प्रकोप बढेपछि नियन्त्रणका लागि नगरपालिकामा निवेदन दिएको बताए । 

उदयपुरको बेलका नगरपालिकामा नगर प्रमुख दुर्गाकुमार थापाको नेतृत्वमा प्रदेश १ सरकारको बाली संरक्षण अधिकृत मुकेशकुमार यादव सहितको टोलीले बेलका नगरका कृषकहरुले धान खेती लगाएको विभिन्न वडाहरुमा स्थलगत अनुगमन, निरीक्षण गरेका थिए । बेलका नगरपालिका १ बस्ने राधा न्यौपानेले खेतमा पाकेको धान थन्क्याउने समयमा फौजी कीरोको प्रकोपले बिचल्ली बनाएको बताइन् । 

उनले भनिन्, ‘अढाइ बिघामा लगाएको धानखेतीमा फौजी कीराको प्रकोप लागेपछि अव के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’ बेलकाका कृषक रमेश कार्कीले धानको जरा (गाबो) मा कीरा बस्ने भएकाले विषादी छर्कनसमेत समस्या हुने गरेको कृषक कार्कीले सुनाए । 

तत्कालका लागि फौजी कीरा प्रभावित किसानको राहतका स्वरुप बराहक्षेत्र र बेलका नगरपालिकाले स्थानीय कृषकलाई निशुल्क विषादी वितरण गरेको थियो । प्रदेश सरकारको ६० हजार र बेलका नगरपालिकाको ३० हजार रुपैयाँ बराबरको विषादी स्थानीय कृषकलाई प्रदान गरिएको छ । ती विषादीहरुमा क्लोरोपाइरिफ, साइपरमेथ्रिन र इमामेक्टिन बेन्जोइट लगायत रहेका छन् । 

बाली संरक्षण अधिकृत मुकेशकुमार यादवले विषादी प्रयोग गर्न जति ढिला गर्न नुहने बताउनुभयो । तापक्रममा एक्कासी परिवर्तन आउँदा फौजी कीराको प्रकोप देखिने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गर्मी हुँदाहुँदै पानी पर्दा फौजी कीरा अनुकूलको वातावरण बन्छ । सिफारिस गरेको रासायनिक मल बढी भएमा र खेतमा बढी घाँस पलाउँदा पनि फौजी कीरा लाग्छ ।’  

उहाँका अनुसार फौजी कीरा एउटा क्षेत्र सखाप पारेपछि अर्को क्षेत्रतिर सर्ने भएकाले यसलाई फौजी कीरा भनिएको हो । कीरा तथा कृषि विज्ञहरुले पाकेको बाली फौजी कीराको आक्रमणबाट बचाउन केही उपाय सुझाएका छन् । खेतबारीमा ८० प्रतिशत पाकी सकेको भए काटेर सुरक्षित स्थलमा भण्डारण गर्नु पर्ने, हरियै अवस्थामा भए वा नपाकेको अवस्था भए खेतमा पानी पटाएर (जमाएर) मट्टितेल हाल्नु पर्ने, पानी अभाव भए दुई तीन मिटरको फरकमा १ फिट गहिरो खाडल खनेर चुना सहित घाँस पतिंगर हाल्नु सके र विषादी प्रयोग गरे फौजी कीराबाट पाकेको अन्नबाली जोगाउन सकिने कीट विज्ञ किशोर भण्डारीले बताउनुभयो ।    

के हो फौजी कीरा ? 
फौजी कीरा पुतली समूहको कीट हो । अण्डा पारेको करीब १० दिन पछि यो लार्भा हुन्छ । करीब १ महिनासम्म यो लार्भा अवस्थामा हुन्छ । लार्भा अवस्थामा बढी भन्दा बढी खाने भएकाले यसलाई खन्चुवा पनि भनिन्छ । प्यूपा २ साता सम्म हुन्छ । त्यसपछि पुतली बन्छ । सबै जीवन चक्रगरी दुई महिनाको आयु रहेको यो कीरा अमेरिकन र रैथाने रहेका छन् । अमेरिका हुँदै भारतसम्म आइपुगेका फौजी कीरा भने नेपालमा गत वैशाख २७ गते फेला परेको हो । 

खेतबारीमा लगाएको अन्नबालीलाई व्यापक रुपमा नोक्सानी पुर्‍याउने फौजी कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षति पुयाउने गरेको कीट विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार मकै मन पराउने फौजी कीराले मकै नपाएको अवस्थामा धान, गहुँ, कोदो, जुनेलो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा व्यापक क्षति पुर्‍याउने गर्छ । 


प्रतिक्रिया