बाला नलागेको धान काट्दै किसानहरु 

आश्विन ३०, २०७६ | चितवन

झण्डै अंगालोभरीको धानको गाँज भएर पनि बाला लागेन । अघिल्ला वर्षहरुमा यो बेला  पाकेर भकारीमा थन्काएको धान यो वर्ष अहिलेसम्म पसाउन पनि सकेन । खैरहनी नगरपालिका–११ कठार पिद्रहनी गाउँका कृष्ण लामाले गएको असार १७ मा गरिमा नामको भारतीय हाइब्रिड जातको धान रोपेका थिए । जुन धान अहिलेसम्म नपसाएपछि उनले बिहीबार बिहान अमिलो मन गराउँदै हरियै बोट काटे । 

उनले अघिल्लो वर्ष १३ कट्ठा खेतमा गरिमा धान रोपेका थिए । असार नौ गते रोपेको धान असोजभित्रै काटेर सकिएको थियो । यो वर्ष सावित्री जातको धान रोप्न खोजेका उनले आफ्ना सबै खेतमा गरिमा धान रोपे । तर, कुनै पनि बोटमा बालो लागेन । यो व्यथा कठारका कृष्ण लामाको मात्रै नभएर गरिमा धान रोप्ने चितवनका सबै किसानको हो । बाला नलागेको धानको हरियो बोट किसानहरुले हटाउन सुरु गरेका छन् । 

‘सावित्री भन्दा हप्ता दिनअघि पाक्छ भनेपछि सबै खेतमा गरिमा जातको धान रोपेको हो । हामीले धान काटेर तरकारी रोप्छौं । चाँडै धान पाके तरकारी चाँडै रोप्न पाइन्छ । तर, गरिमाको बोटमा बाला नै लागेन’ किसान कृष्ण लामाले दुखेसो पोखे । उनले घिउ सिमी लगाउन जग्गा खाली गर्न थालेका हुन् । घिउ सिमीपछि लगत्तै करेला लगाउन पाइन्छ । त्यसैले अब धान पसाउला कि नपसाउला भनेर कुरेर नबसेको उनले बताए ।

‘अघिल्लो वर्षहरुमा यो बेलासम्म काटेर थन्काएर जमिन जोतेर पनि भ्याइन्थ्यो । यो वर्ष अहिलेसम्म नपसाएपछि कहिलेसम्म कुरेर बस्ने’ लामाले पीडा पोखे । उनले धान रोप्दादेखि अहिलेसम्म डेढ लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताए । धान नफलेपछि सबै खर्च बेकार गएको छ । किसानको कुरा र पीडा सुन्ने सरकार भए पीडितलाई राहत र गलत बीउ बेच्नेलाई कारबाही हुनु पर्ने उनको माग छ ।

तर, सरकारी निकायको तत्पर्ता त्यो अनुरुपको छैन । कृषि ज्ञान केन्द्र भरतपुरले असोज १६ मा प्रेस विज्ञप्ति निकाल्दै बाला नलागेको विषयमा विचार गर्न १५/२० दिन लाग्ने जनाएको थियो । केन्द्रका प्रमुख राजन ढकालले जारी गरेको विज्ञप्तिमा केही ठाउँमा बाला लाग्ने लक्षणहरु देखिएको उल्लेख छ । ‘बाला लागेमा धान के कति फल्छ भन्ने बारेमा निधो गर्न केही दिन कुर्नु पर्ने अवस्था छ’ प्रमुख ढकालले भन्नुभयो । 

ज्ञान केन्द्रको विज्ञप्तिमा चितवनका किसानहरुले रोपेको बाला नलागेको धानको बीउको गुण नेपालमा दर्ता भएको गरिमा धानसँग मेल नखाएको उल्लेख छ । त्यसैले कार्यालयले डीएनए परीक्षणका लागि बीउ बिजन गुणस्तर केन्द्र हरिहर भवनमा नमूना पठाएको छ । असोज ६ गते नमूना पठाएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । परीक्षणको प्रतिवेदन आएपछि थप कारवाही प्रकृया अगाडी बढ्ने उहाँले बताउनुभयो । 

गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको धानको बीउ हो । नेपालमा दाङ लमहीको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको हो । चितवनका लागि आधिकारीक बिक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेट हो । प्रशान्त एग्रोभेटका सञ्चालक प्रदिप पाठक आफुले यो वर्ष गरिमा धानको १३ हजार ४०४ केजी बीउ बिक्री गरेको बताउँछन् ।


प्रतिक्रिया