पीडित स्थानीय र बोर्डबीच सहमति पछि अरुण तेश्रोको काम सुरु

फाइल फोटो 

पुस १२, २०७६ | संखुवासभा

लगानी बोर्डले आयोजना प्रभावित स्थानीयको समस्या समाधान गर्ने आश्वासन दिएपछि संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको काम सुरु भएको छ । 

स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच विवाद समाधान गर्ने सहमति भएको हो । सहमति पछि अवरुद्ध सडक र सुरुङ मार्ग निर्माणको काम आजबाट सुरु भएको हो । 

अरुण तेश्रोको काम करीब ३० प्रतिशत भईसक्दा पनि मुआव्जा नपाएपछि स्थानीयले बिहिबारबाट आन्दोलन सुरु गरेका थिए । 

विरोधमा उत्रिएका स्थानीयले अरुण तेश्रो आयोजनाको दिदिङमा निर्माणाधिन पावर–हाउसको सुरुङ मार्गको काम बन्द गरेका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि २ हजार कामदार अलपत्र परेका थिए ।

अरुण तेश्रो निर्माण सुरु भएको ३ वर्ष बितिसक्दा पनि छ्याङकुटीबाट पावर–हाउस स्थल दिदिङसम्मको मुआव्जा विवाद अहिलेसम्म मिलेको छैन । 

सो सडक खण्डमा सरकारले मुआव्जा निर्धारण गरेर सरकारी मूल्य अनुसार स्थानीयलाई रकम दिनु पर्छ । यस क्षेत्रका २ सय परिवारले अझै मुआव्जा पाएका छैनन् । 

छ्याङकुटीबाट पावर–हाउस सम्मको २४ किलोमिटर सडक खण्डमा मुआव्जा नपाएको स्थानीयले बताएका छन् । पहिले १५ मिटरको मुआव्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयले बताए । 


प्रतिक्रिया