जोगबनी नाका बन्दपछि भण्टाबारीबाट सामान आयात

माघ १, २०७६ | विराटनगर

भारतको अररिया जिल्ला प्रशासनले मीरगञ्ज पुलको मर्मत गर्ने भन्दै सवारी सञ्चालनमा रोक लगायपछि रि–रुट गरेर सामान ढुवानी गर्न थालिएको छ । 

भारतको भीमनगर हुँदै सुनसरीको भण्टाबारी नाकाबाट सामान ल्याउन थालिएको हो । 

विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीका अनुसार तेस्रो मुलुकबाट आएका विभिन्न सामान बोकेका ४९ कन्टेनर रि–रुट गरी भण्टाबारीबाट ल्याइएको हो । 

सो नाकाबाट सामान भित्र्याउने बारे नेपाल–भारतका भन्सार अधिकारीबीच सहमति भएपछि एस्कर्टिङ गरी कन्टेनर नेपाल ल्याइएको हो । 

पुल मर्मत सुरु गरिएपछि गत बिहीबारदेखि जोगबनीबाट आयात निर्यात ठप्प भएको थियो । सो पुलबाट साना सवारी साधान मात्र गुड्न दिइएको छ । 

सामान बोकेका बढी भारका साधन ल्याउन रोक लगायको छ । अररिया जिल्ला प्रशासनले यही पुस २४ देखि माघ ६ गतेसम्म मर्मत गर्ने सूचना जारी गरेको थियो । यसअघि पुस ३ देखि ११ गते मर्मत गर्ने भन्दै ढुवानी साधन गुड्न दिइएको थिएन । 

जोगबनी नाकाबाट दैनिक सरदर अढाई सय वटा मालबाहक साधन भित्रन्छन् । २०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यसबेला अढाई महिना सवारी अवागमन ठप्प भएको थियो । करीब सय किलोमिटर घुमाउरो बाटो भारतको भिमनगर हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।

विराटनगर भन्सारले दैनिक सरदर १५ करोड राजश्व असूली गर्दै आएको थियो । जोगबनी नाकाबाट आयात निर्यात प्रभावित हुँदा राजश्व असूलीमा पनि असर गरेको भन्सार कार्यालयले जनाएको छ । 

पुसमा ३ अर्ब ८७ करोड २१ लाख रुपैयाँ बराबरको राजश्व असूली गर्ने लक्ष्य राखेको थियो । तर, पटक पटकको आयात निर्यात बन्दले ५० प्रतिशत मात्रै राजश्व असूली भएको भन्सार कार्यालयको तथ्यांक छ । 


प्रतिक्रिया