नेप्से २० अंकले बढ्यो, कारोबार घट्यो

माघ १, २०७६ | काठमाडौं

धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज २० दशमलव ८५ अंकले बढेर १ हजार २ सय ८४ दशमलव २३ बिन्दुमा पुगेको छ । 

नेप्से दोहोरो अंकले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा आज ९० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भयो । 

कारोबार रकम अघिल्लो दिनको तुलनामा ३६ करोड रुपैयाँले घटेको छ । ७ दशमलव ४८ अंकले घटेको नेप्सेमा हिजो एक अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

 नेप्सेमा कारोबार भएका होटल, उत्पादनमूलक र अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । 

सबै भन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ८१ दशमलव ७ अंकले बढेको छ । यस्तै, व्यापार समूहको ६३ दशमलव ४७, विकास बैंकको ३५ दशमलव ४२ र बैंक समूहको उपसूचक २७ दशमलव १६ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७७ कम्पनीका १० हजार ७ सय ३३ कारोबारबाट ३० लाख ५५ हजार २ सय ३३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा बुधबार सबैभन्दा बढी एनआइसी एसिया बैंकको कारोबार भएको छ । एनआइसी एसिया बैंकको ७ करोड ४० लाख ७४ हजार ७ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया