सुनको आयात पनि घट्यो

माघ ४, २०७६ | काठमाडौं

चालु आर्थिक वर्षको सुरुवातबाटै मुल्यमा भारी बृद्धि भएपछि सुनको आयात पनि हृवात्तै घटेको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सुनको आयात ६० प्रतिशतले घटेको हो । केन्द्रका अनुसार असार देखि मंसिरसम्म ६ अर्ब ९० करोड ३८ लाख २५ हजार मुल्य बराबरको सुन आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्षको ५ महिनामा १७ अर्ब ४५ करोड ३१ लाख मुल्य बराबरको सुन आयात भएको थियो । 

गएको ६ महिनाको अवधिमा मात्र सुन प्रतितोलामा १० हजार ३ सय रुपैयाँले बृद्धि भएको छ । गत साउनको पहिलो साता प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेकोमा गत पुष २३ गते हालसम्मकै उच्च ७६ हजार ५ सय पुगेको थियो । पछिल्लो समय अमेरिका र इरानबिच भएको राजनैतिक द्धन्द्धको प्रत्यक्ष असर सुनको कारोबारमा परेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 

नेपाली बजारमा दैनिक २५ किलो हाराहारीमा सुनको माग हुनेगरे पनि मुल्यबृद्धिपछि कारोबार ठप्प भएको महासंघले जनाएको छ । महासंघका अनुसार पछिल्लो समय सुन किन्न आउनेको भन्दा बेच्न आउने संख्या बढी छ । 


प्रतिक्रिया