लसुनको कारोबार ठप्प, प्याजको भाउ ओरालो

फाल्गुन २, २०७६ | काठमाडौं

चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ । चीनमा नोवेल कोरोना भाइरस फैलिएपछि दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार माघ २२ गतेदेखि चीनबाट आउने लसुनको कारोबार ठप्प भएको छ । 

यसअघि हिजोसम्म लसुन नै भित्रिन छोडेको र कारोबार नभएपछि तरकारीको नियमित कारोबार सूचीबाट समेत हटाइएको थियो । यद्यपी आज केही परिमाणमा नेपाली लसुन आएको र त्यो पनि निकै न्यून भएको श्रेष्ठको भनाई छ । आज नेपाली लसुन प्रतिकिलो ५ सय २० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । यसैबीच केही दिनदेखि प्याजको भाउ भने घटेको छ ।

 भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १ सय ८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको समितिले जनाएको छ । समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०/६५ टन प्याज भित्रिरहेको छ । 


प्रतिक्रिया