बाबा फ्लोर मिलमा राजश्व अनुसन्धान विभागको छापा

फाल्गुन ३, २०७६ | धनकुटा

राजश्व अनुसन्धान विभागको टोलीले सुनसरीको खनारस्थित बाबा फ्लोर मिल र विराटनगरमा रहेको कार्यालयमा छापा मारेर कागज पत्र नियन्त्रणमा लिएको छ । 

उद्योगको उत्पादन र बिक्रीको परिमाणमा मेल नखाएको र उत्पादित मध्ये ७० प्रतिशत भन्दा बढी समान भीसीटीएस बिल बिना बिक्री गरेको आशंकामा विभागले छापा मारेको हो । 

उद्योगले उत्पादन गरेका मध्ये ३० प्रतिशत मात्र भीसीटीएस मार्फत बिक्री गरेको र ७० प्रतिशत सामान नक्कली बिल मार्फत बिक्री गरेको पाइएपछि विभागले कारवाही गरेको हो । 

उद्योगले आफना उत्पादन नारायणघाट सम्म पुर्‍याउँदा बाटोमा नक्कली बिलमा सामान बिक्री गरेको विभाग स्रोतले जनाएको छ । 

अढाई दशकदेखि सञ्चालनमा रहेको सो उद्योगले नक्कली बिल मार्फत करोडौ राजश्व ठगी गरेको पाइएको विभाग जनाएको छ । 

विभाग स्रोतका अनुसार उद्योगले उत्पादन गरेको वस्तुको स्टक र कागजपत्र नमिलाई ठूलो परिमाणमा राजश्व ठगी गरेको पाइएपछि छापा मारेर कागज पत्र नियन्त्रणमा लिएको हो ।

टोलीले उद्योगका म्यानेजर गिरधारी अग्रवालको घरमा पनि छापा मारेर कागज पत्र लिएको छ । 

उद्योगका म्यानेजर अग्रवालले उद्योगका प्राय: नक्कली बिल, स्टीमेड बिल र रेकर्ड आफनो घरमै राख्दै आएका थिए ।

टोलीले अग्रवालको घरबाट तिन बोरा काजगपत्र जफत गरेको छ । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागको इटहरी शाखाले छापा मार्न अटेर गरेपछि काठमाडौंबाट टोली आएर छापा मारेको हो । 

इटहरी राजश्व इकाई प्रमुख वेद फुयाँलका अुनसार केन्द्रको टोलीले छापा मारेर कागज पत्र जफत गरेको छ । उद्योगी सुरेश राठीले विभागको टोलीले उद्योगको स्टक रजिष्टर र कागजपत्र लगेको स्वीकारेका छन् । 


प्रतिक्रिया