पुस्तकमा कर लगाउनु जायज : अर्थमन्त्री खतिवडा

फाल्गुन १५, २०७६ | काठमाडौं

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज भएको बताउनुभएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएको बताउनुभयो । 

अन्य देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको उदाहरण दिदै मन्त्री खतिवडाले यो नौलो बिषय नभएको बताउनुभयो । खतिवडाले भन्नुभयो, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन् । हाम्रो देशमा अरबौँ रुपैयाा लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ । उनीहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्छ । करै नतिरी ल्याउने पुस्तकसँग उनीहरुले कसरी प्रतिस्पर्धा गर्नेछन् ?’ 

करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्रीवितरण भएको खतिवडाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पुस्तकको व्यापार, व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन ज्ञानको त आदानप्रदान हुन्छ । ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौँ ।’ एउटा पुस्तकमा ३५–४० प्रतिशत नाफा खाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको पनि मन्त्री खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया