कालोबजारी गर्ने ८ फार्मेसीलाई ९ लाख रुपैयाँ जरिवाना

फाल्गुन २८, २०७६ | काठमाडौं

खरिद बिल नराखी कालोबजारी गर्ने काठमाडौंका विभिन्न स्थानका औषधि पसल सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । 

विभागले काठमाडौंका विभिन्न स्थानमा सञ्चालित ११ वटा औषधि पसलको आज अनुगमन गरी कैफियत भेटिएका ८ वटा फार्मेसीलाई ८ लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

अनुगमनका क्रममा सर्जिकल मास्क, सेनिटाइजर र अन्य औषधिको कृतिक अभाव सृजना गरी महँगोमा बिक्री गरेको पाइएपछि उनीहरुलाई जरिवाना गराएको विभागले जनाएको छ । 

विभागले क्षेत्रपाटीस्थित पुरी सर्जिकल इक्यूपमेन्ट सप्लायर्स प्रालि, शुभम हेल्थ केयर प्रोडक्सन प्रालि, ओ.एस.बी इन्टरप्राइजेज र बानेश्वरस्थित भरोसा फार्मेसी सञ्चालकलाई २/२ लाख रुपैयाँ जरिवाना तिराएको छ । 

अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि विभागले क्षेत्रपाटीस्थित क्रेकर इन्टरप्राइजेज, काठमाडौं ट्रेड कन्सर्न, स्पेलण्डिङ ट्रेडर्स र मामा भन्जा ट्रेडर्स कन्सर्नलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । 

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि औषधि पसल सञ्चालकले सर्जिकल मास्क, सेनिटाइजर र अन्य औषधिको कृतिम अभाव सृजना गरी महँगोमा बिक्री गरेको गुनासोपछि विभागले अनुगमन तीब्र पारेको हो । 


प्रतिक्रिया