माथिल्लो तामाकोशी बाँध परीक्षण आजबाट

चैत्र ३, २०७६ | काठमाडौं

दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको महत्वपूर्ण काम मध्येको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको परीक्षण आजबाट सुरु गरिएको छ । ९९ दशमलव चार प्रतिशत कूल भौतिक प्रगति पुगेको आयोजनाको प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

 प्रवक्ता न्यौपानेका अनुसार बाँध क्षेत्रको संरचना निर्माण पूरा भइसकेकोले त्यसमा केही समस्या भए नभएको परीक्षण गर्न लागिएको हो । ८ दिनसम्म लाग्ने परिक्षणका क्रममा बाँध स्थलमा पानी जम्मा गर्ने, मुहान गेटको अवस्था परिक्षण र डिसेन्डर बेसिन अर्थात बालुवा थिग्राउने पोखरीको परीक्षण गरिने न्यापानेले बताउनुभयो । कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ ।

 यसैबीच निकै जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान गर्ने काममध्ये तल्लो ठाडो सुरुङमा कुल २ सय ६० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ४५ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यापानेले जानकारी दिनुभयो । आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी आयोजनाको छ । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।


प्रतिक्रिया