पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

चैत्र ३, २०७६ | काठमाडौं

नेपाल आयल निगम पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि निगमले भने दुई रुपैयाँ मात्र मूल्य घटाएको हो । 

हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य यथावत नै राखेको निगमले जनाएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । 

नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरेको प्रवक्ता गोइतले जानकारी दिनुभयो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रुपमा घटेको छ । 

तीन महिनाअघि ओपेक राष्ट्रबाट निर्यात हुने कच्चा तेलको मूल्य प्रति ब्यारेल ६७ अमेरिकी डलर रहेकोमा सोमबार यो ३३.२५ डलर प्रति ब्यारेजलमा झरेको छ । कोरोनाको महामारी विश्वभर फैलिएसँगै विश्वभर हवाई इन्धन सहित सबै इन्धनको माग घटेको छ ।


प्रतिक्रिया