एडिबीद्वारा कोरोनाविरुद्ध ६ अर्ब ५० करोड डलरको सहायता प्याकेज घोषणा

चैत्र ५, २०७६ | काठमाडौं

कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईका लागि विकासोन्मुख मुलुकहरुको सहयोगार्थ एसियाली विकास बैंक एडिबीले ६ अर्ब ५० करोड डलर बराबरको सहयता प्याकेजको घोषणा गरेको छ । 

जसमध्ये ३ अर्ब ६० करोड डलर, महामारीको स्वास्थ्य र आर्थिक परिणमहरुसंग जुझ्ने सार्वभौम कार्य सञ्चालनमा खर्च हुनेछ । यस्तै, १ अर्ब ६० करोड डलर लघु, साना र मध्यम आकारका उद्यम सञ्चालन, आन्तरिक तथा क्षेत्रीय व्यापार र व्यवसायीक फर्महरुको सहयोगार्थ खर्च गरिने एडिबीले जनाएको छ । प्राविधिक सहयोग र द्रुत वितरण अनुदानका लागि ४ करोड डलर छुट्याईएको छ ।

विकासोन्मुख मुलुकको तत्कालको आवश्यक्ता सम्बोधनका लागि प्रारम्भिक चरणमा सो प्याकेज घोषणा गरिएको एडिबीले जनाएको छ । एडिबीका अध्यक्ष मसात्सुगु असाकावाले कोरोना संक्रमणको महामारीले विश्वमै संकट निम्तिएको भन्दै यसविरुद्ध राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमै प्रभावकारी कदम चाल्नु आवश्यक रहेको बताउनुभयो । 

आफ्ना सदस्य राष्ट्रहरुहरुलाई साथमा लिएर महामारीको सामना गर्न आक्रामक उपायहरु अवलम्वन गर्ने उहाँको भनाई थियो । सदस्य राष्ट्रहरुसंगको व्यापक छलफलपछि सो प्याकेज घोषणा गरिएको एडिबीले जनाएको छ ।

 यसअघि पनि पटक पटक गरी एडिबीले कोरोनाविरुद्धको लडाईका क्रममा २२ करोड ५० लाख डलर सहयोग गरिसकेको छ । आवश्यक्ताअनुसार आर्थिक तथा नीति निर्माणको क्षेत्रमा एडिबीले सहयोग जारी राख्ने उल्लेख गरेको छ ।  


प्रतिक्रिया