अधिकांस अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने

चैत्र ७, २०७६ | .काठमाडौं.

नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि आज मध्यरातिबाट अधिकांस अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने भएको छ । भाइरसको सन्त्रास बढेसँगै उच्च सर्तकता अपनाउने निर्णय गरेको नेपाल सरकारले विदेश नागरिकको आवागमनमा कडाई गर्ने भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने पुर्णरुपमा बन्द नहुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बैंककको थाई एयर, एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न र सिंगापुरको सिल्क एयरका उडान भने नियमित हुने प्राधिकरणले जनाएको छ । भारतीय डीजीसीएले भने एक साताकालागि सबै उडान रद्द गर्ने निर्णय गरेको छ । नेपाल वायू सेवा निगमले आजैदेखि एक साता भारतका विभिन्न स्थानहरुमा उडान गर्न पाउने छैन । भाइरसको रोकथामकालागि नेपाल सरकारले बुधबार ७३ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक्ने यसअघि नै निर्णय गरिसकेको छ ।

जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान आजबाट स्थगित

यसैबीच नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान आजबाट स्थगित गर्ने भएको छ । मध्यरातिदेखि लागु हुने गरी दुई गन्तब्यको उडान स्थगित गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता अर्जना खड्काले जानकारी दिनुभयो ।

 कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित हुने छ । चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकटको सबै रकम फिर्ता गर्ने प्रवक्ता खड्काको भनाई छ । 

यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने छ । यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।


प्रतिक्रिया