अधिकांश होटलहरु बन्द हुने अवस्थामा

चैत्र ८, २०७६ | काठमाण्डौ..

केशु लामिछाने

कोरोना भाइरसको सम्भावित जोखिमका कारण बाह्य र आन्तरिक पर्यटकको आगमन ठप्पप्राय भएपछि मुलुकका पाचँतारेसहित अन्य होटल, रेस्टुँरा तथा रिसोर्टहरु बन्द हुन थालेका छन् । सरकारले होटल, रेस्टुराँ तथा रिसोर्टहरुलाई अत्यावश्यक सेवामा सुचित गरेपनि पर्यटक आवागमन ठप्प भएपछि बन्द हुने अवस्थामा पुगेका हुन् । 

काठमाण्डौस्थित पाँचतारे होटल याक एन्ड यति आजदेखि केही दिनका लागि बन्द भएको छ । यस्तै राजधानीस्थित अर्को पाँचतारे होटल हायात रिजेन्सी पनि आज बाट बन्द हुँदैछ । होटलहरुको छाता संगठन होटल एशोशियसन 'हान'का अनुसार अहिले होटलहरुको अकुपेन्सी दर १० प्रतिशत भन्दा पनि कम छ । हानका प्रथम उपाध्यक्ष विनायक साहले हाल सबै होटलहरु बन्द हुने अवस्थामा पुगेको भन्दै एक दुई दिनमै देशैभरिका होटल व्यवसायीहरु बीच छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।

 होटल, रेस्टुरेन्ट र रिसोर्टलाई अत्यावश्यक सेवामा समावेश गरेकाले सरकारी निर्देशन अनुसार नै अघि निर्णय लिइने उहाँले बताउनुभयो । अहिलेकै अवस्था रहेमा नेपालका होटलहरुले मासिक डेढ अर्ब हाराहारीमा नोक्सानी व्योहोनुपर्ने 'हान'को अनुमान छ । 


प्रतिक्रिया