नगदको सट्टा विद्युतीय कारोबार गर्न नेपाल राष्ट्र बैंकको आग्रह

चैत्र ९, २०७६ | काठमाडौं

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नगद कारोबारको सट्टा विद्युतीय कारोबारमा जोड दिन नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ ।

 केन्द्रीय बैंकले आज सूचना जारी गर्दै सबै बैंक, तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानीको कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरिसकेकाले सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न आग्रह गरेको हो । यस्तो कारोबार छिटो, छरितो र सुरक्षित समेत हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

 विद्युतीय भुक्तानी कारोबारलाई थप सहज बनाउन ठूलो मूल्यको भुक्तानीका लागि कार्यान्वयनमा ल्याइएको आरटिजीएसमार्फत कारोबार गर्दा हाल लाग्दै आएको शुल्क नलाग्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

यसैबीच, बैंक तथा वित्तीय संस्थालाई आवश्यक सजगता अपनाएर सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले परिपत्र जारी गरेको छ । 

कर्मचारीमा हुनसक्ने संक्रमण तथा संस्थाको व्यवसायलाई ध्यानमा राखेर यथासम्भवन न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । बैंक तथा वित्तीय संस्थामा बढी भिडभाड नगर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया