लकडाउनका बेला होमस्टे चलाए ५० हजार जरिवाना

चैत्र १५, २०७६ | (लमजुङ

लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँका स्थानीयले होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । गाउँमा आएका पर्यटकलाई फर्काउने र अटेर गरी होमस्टेमा राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने पर्यटन व्यवस्थापन समितिले जनाएको छ । 

लकडाउनका बेला सहरमा समय बिताउन गाह्रो भएको भन्दै केही पर्यटक जिप र मोटरसाइकल चढेर बुधबार घलेगाउँ पुगेका थिए । गाउँ नजिकै पुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका थिए । फिर्ता पठाइएका उनीहरुलाई गाउँका होमस्टेमा बैशाख १ गतेसम्म कोही पर्यटक नराख्न उर्दी गरिएको र राखेको पाइएमा २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

स्थानीयका अनुसार बुधबार दिउँसो केही युवा मोटरसाइकलमा घलेगाउँ पुगेका थिए । साँझपख २ वटा जिप चढेर पर्यटक घलेगाउँ आएका थिए । उनीहरुलाई फिर्ता पठाएको पर्यटन व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि होमस्टेलाई पर्यटक नराख्न चेतावनी दिइएको हो । उहाँले भन्नुभयो, ‘जति बन्द भनेपनि पर्यटक घलेगाउँ आउन रोकिएन । हामीले पर्यटक नराख्ने निर्णय गर्‍यौं । जरिवाना पनि महंगो नै तोक्यौं । यति भएपछि पर्यटक जाँदैन । पर्यटकलाई होमस्टेले राख्दैन ।’

२०५७ देखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे रहेको समितिका सचिव दीर्घ घलेले बताउनुभयो । नआउन आग्रह गर्दा पनि आउने पर्यटकलाई फिर्ता पठाएको उहाँले जानकारी दिनुभयो । द्वन्दकालको विषम परिस्थितिमा समेत कुनै दिन पर्यटक नटुटेको घलेगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर राखेर आन्तरिक पर्यटकलाई समेत आवतजावतमा बन्द गराएको क्व्होलासोंथर गाउापालिका अध्यक्ष समेत रहेका प्रेम घलेले बताउनुभयो ।

उहाँका अनुसार गाउापालिका भरी नै बाहिरबाट स्थानीय भएपनि प्रवेशमा रोक लगाएको छ । एक अर्को गाउामा समेत आवतजावतमा रोक लगाएको छ । उहाँले भन्नुभयो, ‘भारतबाट आउने, अरबबाट आउनेलाई समेत हामीले फर्काएका छौं । पोखराबाट पसगाउा, सिङदी, चरागाउा नाका, भोर्लेटारबाट गिलुङ नाका, बेंसीसहरबाट बाग्लुङपानी नाका बन्द गरेका छौं ।’


प्रतिक्रिया