कालीगण्डकी करिडोर असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य

जेष्ठ १०, २०७७ | पर्वत

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । जारी बन्दाबन्दीका बीच पनि स्वास्थ्य सुरक्षा अपनाएर काम जारी राखिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेका छन् । दाना—कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११ दशमलव २ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको घिसिङले बताउनुभयो ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, । केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु भएको छ, असारभित्र जसरी पनि सञ्चालन गर्ने गरी टिम खटिएको छ ।’

३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउापालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावर मात्रै खडा गर्न बाँकी छ ।


प्रतिक्रिया