सलह कीराको प्रकोप रोकथामका लागि प्राविधिक समिति गठन

जेष्ठ १४, २०७७ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । सो कीराबाट नेपाल लगाइएको बालीमा हुन सक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न मन्त्रालयले प्राविधिक समिति गठन गरेको हो । 

नेपालमा पनि सलह कीराको प्रकोप देखिने सम्भावना उच्च भएकाले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । 

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिक सम्मिलित समिति गठन गरिएको उहाँले बताउनुभयो । प्राविधिक समितिले भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति र पूर्वतयारी कस्तो हुनुपर्छ भन्ने विषयमा सुझाव दिने मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिनुभयो । 

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेको छ । सो समितिले कीराको प्रकोप रोकथामका लागि आवश्यक पर्ने विषादीको उपलब्धता, उपकरण, परिचालन लगायत अन्य विविध विषयमा अध्ययन गरेर सुझाव दिनेछ । प्राविधिक टोलीले दिएको सुझावको आधारमा थप तयारी गर्ने मन्त्रालयले जनाएको छ ।

सलह कीरा फट्याङ्ग्रा वर्गको कीरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । कीरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउने विज्ञहरु बताउँछन् । 

यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् । यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ । नेपालमा पनि सुदूरपश्चम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । 


प्रतिक्रिया