युवालाई विनाव्याज कर्जा प्रवाह

जेष्ठ १५, २०७७ | लमजुङ

युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन मस्र्याङदी गाउँपालिकाले व्याज मिनाह हुने गरी ऋण उपलब्ध गराउन थालेको छ ।

विदेश पलायनबाट रोकी आफ्नै गाउँठाउँमा कृषि कर्ममा लाग्न युवालाई व्याज सहुलियत दिने गरी ऋण प्रवाह गर्न थालेको हो । मस्र्याङदी गाउँपालिका ७, शेराका केशलाल तामाङले व्याज सहुलियत ऋणले थप जाँगर पलाएको बताए । उनले कुखुरा, बाख्रा, माछा र बंगुर पालनको लागि व्याज तिर्न नपर्ने ऋण लिएको बताए । ‘हामीजस्ता किसानलाई व्याज तिर्न नपरेपछि त्यही राम्रो हो । व्यवसाय गरेपछि साँवा जसरी पनि तिरिन्छ, कुनै समस्या छैन’ उनले भने ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज नलाग्ने गरी ऋण उपलब्ध गराउन थालेको बताए । ‘युवालाई आत्मनिर्भर बनाई विदेश जानबाट रोक्ने हाम्रो प्रयास हो । गाउँठाउँमै बसेर केही गर्न चाहने युवालाई हामीले व्याज नलाग्ने गरी ऋण दिन थालेका छौं ।’ गाउँसभाबाट अनुमोदन गरी युवालाई व्याज सहुलियत कर्जा प्रवाह गरिएको उनले बताए । ‘गाउँसभाबाट युवा उद्यमशीलता विकास कोष कार्यक्रम पास गर्‍यौं । नियमावली र कार्यविधि बनाएर कर्जा प्रवाह थालेका छौं’ उनले भने ।

गाउँपालिकाले युवा उद्यमशीलता विकास कोष स्थापना गरी चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । अर्को बर्ष थप ५० लाख राखेर कोषलाई १ करोड पुर्‍याइने भएको छ । त्यसपछि आवश्यकता अनुसार थप्ने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार चालु बर्षमा विनियोजित बजेटमध्ये कृषि तथा कुखुरा पालनका लागि २८ लाख ५० हजार, भैंसी तथा बाख्रा पालनका लागि ७ लाख ५० हजार र स्थानीय प्रकृतिका घरेलु उद्योगका लागि ४ लाख सरल कर्जा वितरण गरिने छ ।

कोषका कार्यक्रम अधिकृत विष्णुप्रसाद दाहालका अनुसार गाउँपालिका भित्रका ७१ युवाले आवेदन दिएकोमा चालु आवमा १८ युवा छनौट भएको छ । १८ बर्षदेखि ४० बर्ष ननाघेका युवाका लागि प्राथामिकता र कार्यविधिले तोके बमोजिम व्याज बिनाको ऋण प्रवाह गर्न थालिएको उनले बताए । कोषबाट कम्तीमा १ लाख र बढीमा ५ लाख रुपैयाँसम्म व्याज सहुलियतको ऋण उपलब्ध हुनेछ । उनका अनुसार एकतिहाई समयमा ऋण चुक्ता गर्नुपर्ने छ । १ बर्षका लागि ऋण लिनेले ४/४ महिनामा बुझाउनुपर्नेछ । ३ बर्षका लागि लिनेले बर्षेनी बुझाउनु पर्नेछ । पहिलो किस्ता २० प्रतिशत, दोस्रो किस्ता ३० प्रतिशत र अन्तिम किस्ता ५० प्रतिशत तिर्नुपर्ने उनले बताए । तोकिएको मितिमा किस्ता रकम जम्मा नगरेमा १२ प्रतिशतका दरले जरिवाना गरिने लाग्ने उनले बताए ।

गाउापालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार व्यवसायिक फर्म दर्ता गरेर सुरु गरेका र छनौटमा परेका युवालाई वडा कार्यालयको सिफारिसमा ऋण दिन थालिएको छ । ‘जस्ले आफ्ना कृषि कर्म र व्यवसाय सुरु गरेका छन् । उनीहरु आफ्ना व्यवसायबाट पलायन हुन नदिने गाउँपालिकाको नीति हो’ उनले भने, ‘यसबर्ष कम युवाले व्याज सहुलियतको ऋण पाएपनि अर्को बर्ष अझ धेरैले पाउन सक्छ ।’ युवालाई स्थानीय तहमा लगानीमैत्री वातावरण बनाएर बेरोजगारी न्युनीकरण, जीवन निर्वाहका लागि विदेशिने बाध्यताको अन्त्य, स्थानीय उत्पादनलाई जोड दिन कर्जा सहुलियतको कार्यक्रम ल्याइएको उनले बताए ।


प्रतिक्रिया