सुनकोसी-मरिण डाइभर्सनलाई साँढे दुई अर्ब बजेट

जेष्ठ १७, २०७७ | सिन्धुली
सिन्धुलीमा निर्माणाधीन राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा दुई अर्ब ४६ करोड रुपैंयाँ विनियोजन गरेको छ । विनियोजित रकम मुआब्जा तथा अस्थायी भौतिक संरचना निर्माणमा खर्च हुने आयोजनाले जनाएको छ ।
चालू आर्थिक वर्षमा आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँ बजेट रहेको छ । मुआब्जा वितरणको काममा लाग्दै गर्दा कोरोना कहरले आयोजना निर्माणले गति लिन सकेको छैन । आगामी आर्थिक वर्षका लागि विनियोजित रकम सुरुङ मार्ग निर्माण लगायत काममा खर्च गर्ने भनेपनि लागत अनुसार बजेट पर्याप्त नभएको आयोजनाले जनाएको छ ।
आयोजनाको लागत ४६ अर्ब रुपैंयाँ रहेको भन्दै आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यले सुरुङको डिटेल डिजाइन र ईआइए प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजना निर्माणका लागि मुख्य लगानीकर्तामा चीनलाई राखिएको थियो ।
आयोजना प्रमुख आचार्यका अनुसार लगानीको वातावरण तयार गर्नका लागि अर्थ मन्त्रालय र आयोजनाको टोली चीन जाने कार्यक्रम तय भएपनि कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकिएको थियो । आयोजनाको मुख्य उद्देश्य तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने रहेको प्रमुख आचार्यले बताउनुभयो ।
सुनकोशीको पानी डाइभर्सन पछि मरिणखोलामा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ । उक्त फाँटबाट मरिणखोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पुर्याई सिंचाईको सुविधा बढाउने लक्ष्य सरकारको छ ।