२१०० सालमा गण्डकीमा हरेकको प्रतिव्यक्ति आय १५ हजार ७२९ डलर पुर्‍याउने लक्ष्य

जेष्ठ १८, २०७७ | पोखरा

पाँच वर्षभित्रै साढे १० प्रतिशत आर्थिक बृद्धिदर गर्ने महत्वाकांक्षी लक्ष्यसहित गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइएको छ । 

योजनामा बिक्रम संम्बत २१०० सम्म अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्य राखिएको छ । चालु वर्ष ६ दशमलब ८ प्रतिशत आर्थिक बृद्धिदर रहेकोमा २०८०/८१ सम्म १० दशमलब २, २०८७ सम्म १० दशमलब ५ र २१०० सालसम्म ११ प्रतिशत् पुर्‍याउने लक्ष्य योजनामा छ । 

यसैगरी १ हजार ४३ अमेरिकी डलर प्रतिव्यक्ति आयलाई अल्पकालिनमा १ हजार ९ सय ५६, मध्यमकालिनमा ३ हजार ७ सय २१ र दीर्घकालिनमा १५ हजार ७ सय २९ डलर पुर्‍याउने योजनामा छ । 

कुल गार्हस्थ उत्पादन चालुवर्ष २ सय ८८ अर्ब रहेकोमा अल्पकालिनमा ४ सय ६८, मध्यमकालिनमा ८ सय ५७ अर्ब र दीर्घकालिन ३ हजार ५ सय ३९ अर्ब पुर्‍याउने प्रक्षेपण गरिएको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष गिरीधारी शर्मा पौडेलले बताउनुभयो ।

दीर्घकालिन समृद्धि र सुखका राष्ट्रिय १० लक्ष्य, दिगो बिकास लक्ष्यका संकेत र कृषि बिकास रणनीतिका बुँदा संयोजन गरिएको उपाध्यक्ष पौडेलले बताउनुभयो । प्रदेशमा कोरोना भाइरसको असर व्यस्थापन योजना पनि समेटिएको छ । 


प्रतिक्रिया