सोलारबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

जेष्ठ २२, २०७७ | काठमाडौं

विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १ दशमलव २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १ दशमलव २५ मेगावाट सञ्चालनमा आएको हो । 

सोलार आयोजनाबाट उत्पादित विद्युत देवीघाट विद्युत गृहको सव–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेको आधारमा १ दशमलव २५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ । 

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानल मार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत उत्पादन हुने छ । 

२५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । आयोजनाको १० मेगावाट विद्युत् डेढ महिना भित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको घिसिङले बताउनुभयो ।

‘बैशाख भित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो, घिसिङले भन्नुभयो, ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ ।’

सरकारले दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाको उत्पादन समिश्रण अनुपात लागू गरेको छ । 

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ । अहिले देवीघाट विद्युत गृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । 

एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ । देवीघाट विद्युत गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत जडानका लागि ६६/३३ केभीको नयाँ सवस्टेसन पनि निर्माण भइरहेको छ । 

सवस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास बहादुर रघुबंशीले जानकारी दिए ।, उनले सवस्टेसनका उपकरणहरु निर्माण स्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण भइरहेको बताउनुभयो । 


प्रतिक्रिया