नेप्सेमा उछाल आएपछि सर्किट ब्रेकर लगाएर २ घण्टामै बजार बन्द

असार १६, २०७७ | काठमाडौं

लकडाउनका कारण लामो समय बन्द रहेर हिजोबाट खुलेको शेयर बजारमा आज भारी वृद्धि भएपछि २ पटकसम्म सर्किट ब्रेकर लगाएर २ घण्टामै बजार बन्द गराइएको छ ।

दिउँसो १२ बजेर १७ मिनेटमा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेकर लगाएर ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । त्यसपछि बजार खुलेलगत्तै दिउँसो १ बजे ६ प्रतिशतले बढेपछि पुन: सर्किट ब्रेकर लगाई आजका लागि बजार बन्द गरिएको छ । 

बजार बन्द हुँदा नेप्से ७२ दशमलव शुन्य ५ अंकले बढेर १ हजार २ सय ६० दशमलव ७५ अंकमा पुगेको छ । यो हिजोको भन्दा ६ दशमलव शुन्य ६ प्रतिशतले बढी हो । होटेल वाहेक अन्य सबै समुहको उपसूचकमा आज उल्लेख्य सुधार आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको उपसूचक २ सय ९६ दशमलव १५ अंकले बढेको छ । 

आज कुल १ सय ३४ कम्पनीको २ हजार ९ सय १९ कारोबारबाट २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैयाँ बराबरको ४ लाख ८९ हजार ५ सय ३७ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । 


प्रतिक्रिया