होटल सञ्चालन गर्न पाउनु पर्ने वीरगञ्जका व्यवसायीको माग

असार १७, २०७७ | पर्सा

पर्साको वीरगञ्जका होटल व्यवसायीले होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ पर्साले केन्द्र तथा स्थानीय सरकारसँग यस्तो माग गरेका हुन् । 

संघले बुधबार प्रमुख जिल्ला अधिकारी तथा वीरगञ्ज महानगरपालिकाका प्रमुखलाई छुुट्टा छुट्टै ज्ञापनपत्र बुझाई यस्तो माग गरेका हुन् । 

संघका अध्यक्ष हरी पन्त सहितको होटल तथा पर्यटन व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी विष्णु कुुमार कार्की र महानगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा कोरोना महामारीको कारण जारी लकडाउनका कारण वीरगञ्जको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने भएकाले आफूहरुको मर्का बुुझेर अविलम्ब व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरिएको छ । 

व्यवसायीहरुले नियमानुसार सामाजिक दूरी कायम गरी/गराइ होटल रेस्टुरेन्ट क्षेत्रलाई तत्कालै खोल्ने वातावरण बनाउन स्थानीय प्रशासनसँंग समन्वयकारी भूमिका निर्वाह गर्न माग गरेका छन् ।

चालू आर्थिक वर्षमा लकडाउनले गर्दा होटल तथा पर्यटन व्यवसायमा अकल्पनिय क्षति भएकाले महानगरपालिकाले लिँदै आएको घर बहाल कर, व्यवसाय कर तथा फोहोर कर पूर्ण रुपमा मिनाहाको माग समेत गरेका छन् । 

साथै होटलहरुको लकडाउन अवधिभरको भाडा पूर्ण मिनाहा एवं त्यसपछि व्यवसायको स्थिति हेरी सामान्य अवस्थामा आइ नपुग्दा सम्म आधा घरभाडा मिनाहाको लागि सम्बन्धित घर धनीहरुलाई आह्वान गर्न पनि माग गरिएको छ ।

प्रजिअ कार्कीले सरकारले नै तत्कालका लागि होटेल तथा रेष्टुरेन्ट बन्द राख्न आह्वान गरेको अवस्थामा आफूले खोल्न अनुमति दिन नसक्ने बताउनुभयो । 

महानगर प्रमुख सरावगीले गृह मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई वीरगञ्जका होटल व्यवसायीको माग बारे अविलम्ब जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो । 


प्रतिक्रिया