बुधबार नेप्सेमा दोहोरो अंकले गिरावट

असार २४, २०७७ | काठमाडौं

लगातार तीनदिन उकालो लागेको बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले गिरावट आएको छ । बुधबार नेप्से १० दशमलव १३ अंकले घटेर १ हजार ३ सय २६ दशमलव ५३ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ७ करोड रुपैयाँले कमी आएको छ । 

अघिल्लो दिन (मंगलबार) करीब ३८ अंकले उकालो लागेको नेप्सेमा १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । नेप्सेमा आज व्यापार र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । 

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ६० दशमलव २९ अंकले घटेको छ । यस्तै, होटलको ४२ दशमलव ४२, निर्जीवन बीमाको ३० दशमलव १३ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक १३ दशमलव ८ अंकले घटेको छ ।

कारोबार हुने साताको चौंथो दिन नेप्सेमा कुल १ सय ७९ कम्पनीका १९ हजार ५ सय ४१ कारोबारबाट २९ लाख ७७ हजार ७ सय ६ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


प्रतिक्रिया