बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७७ | काठमाडौं

अविरल भारी बर्षासंगै विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका विद्युतगृहबाट २ सय ४० र नीजिबाट उत्पादित २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताउनुभयो । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । जसका कारण केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका उहाँले बताउनुभयो । 

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ए विद्युत गृह आज बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव बढिरहेकाले कहिले सञ्चालनमा आउछ भन्ने यकिन नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द छ । 

भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।


प्रतिक्रिया