ठेकेदारको लापरबाहीले टेलिकमको करोडौंको सामान अलपत्र

ठेकेदार कम्पनीले समयमै काम नसक्दा पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेको चाम्ताङस्थित टेलिकमको करोडौंको सामान अलपत्र अवस्थामा । तस्बिर : एलिसा श्रेष्ठ 

असार २८, २०७७ | भोजपुर

ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै सम्पन्न नहुँदा भोजपुरको पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेको चाम्ताङस्थित नेपाल टेलिकमको करोडौं मूल्य बराबरको सामान अलपत्र परेको छ । टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौंको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन ।

टावर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा नेटवर्कको पहुँचबाट वञ्चित छन् । कम्पनीले करोडौंको सामान ल्याएर जडान नगर्दा सिंगो पौवादुङमा गाउँपालिका र आसपासका अन्य क्षेत्र सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एक स्थानीयले भने, ‘टेलिकमको टावरको सामान वर्षौदेखि त्यतिक्कै छ, गाउँमा नेटवर्क नै टिप्दैन, टेलिफोन गर्न डाँडातिर जानुपर्छ ।’

टेलिकमको टावर राख्ने कुरामा ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले कुनै चासो लिएको छैन । तात्कालीन समयमा उपकरण जडानका लागि भारतबाट आएका कामदारले सोलार सेट मात्रै जडान गरेर हिँडेपछि काम सम्पन्न हुन नसकेको टेलिकमका पूर्वी क्षेत्रीय विभाग प्रमुख सुजितानन्द मल्लले बताउनुभयो । 

उहाँका अनुसार कम्पनीले भारतबाट दक्ष कामदारलाई ल्याएर बस्ने, खाने राम्रो प्रबन्ध उपलब्ध गराए मात्र काम अघि बढाउने तयारी गरेको बुझिएको छ । कम्पनीले कोभिड–१९ का कारण देखाउँदै काम गर्न नसकिएको जानकारी गराएको उहाँले बताउनुभयो ।

यता, नेपाल टेलिकम भोजपुर शाखाले भने सो टावर निर्माण सम्बन्धी बेखबर रहेको बताएको छ । जिल्लामा सञ्चालित सबै सेवा सञ्चारमा टेलिकमले निगरानी र प्राविधिक सहयोग गरेपनि सो टावर अलपत्र रहेकोमा कुनै जानकारी नभएको टेलिकम भोजपुर प्रमुख रामसेवक यादवले बताउनुभयो । कम्पनीले काममा ढिलाई गरेको बारेमा पनि आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित ठेकेदार कम्पनीले टावर सुरु गरिदिए सञ्चार सेवाबाट लाभान्वित हुनेमा स्थानीयबासी आशावादी देखिन्छन् । समयमै सेवा सुरु गरिए सञ्चार सेवाको पहुँचबाट सहजता पुग्ने पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

टावरका सम्पूर्ण काम सम्पन्न गर्न सम्बन्धित कम्पनीसँग पहल भईरहेको पनि उहाँले बताउनुभयो । जिल्लामा अहिले टेलिकमका १९ वटा टावर सञ्चालनमा छन् । ७ वटा टावर विविध समस्याले सञ्चालनमा आउने नसकेको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया