प्रदेश १ मा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न

असार २९, २०७७ | मोरङ

यसवर्ष समयै मौसम सक्रिय भएका प्रदेश १ मा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । प्रदेश १ मा सोमबार सम्ममा ६९ दशमलव ८३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ३६ दशमलव २८ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

यस एकका कुल धानखेती योग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जग्गामध्ये २ लाख ३८ हजार ७ दशमलव ४१ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तराईका २ लाख २५ हजार ८ सय हेक्टरमध्ये ७३ दशमलव १६ प्रतिशत अर्थात १ लाख ६५ हजार १ सय ८५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ६४ दशमलव ७१ प्रतिशत अर्थात् ५८ हजार ८ सय २७ दशमलव ८३ र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये ५८ दशमलव शून्य ४ प्रतिशत अर्थात् १३ हजार ९ सय ९४ दशमलव ५८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

सबभन्दा बढी सोलुखुम्बुमा ८५ प्रतिशत, खोटाङमा ७६, झापा, सुनसरी र भोजपुरमा ७५ प्रतिशत र सबभन्दा कम ओखलढुंगामा ३० प्रतिशत मात्रै रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो । 

ताप्लेजुङमा ७४, मोरङ, तेह्रथुममा ७० इलाममा ६५, धनकुटा र पाँचथरमा ६०, उदयपुरमा ५३ र संखुवासभामा ४५ प्रतिशत रोपाइँ भएको उप्रेतीले बताउनुभयो ।

प्रवक्ता उप्रेतीले यसपाली केही दिनदेखिको अविरल वर्षाले केही पहाडी जिल्लाको केही भागमा रोपाइँ प्रभावित भएपनि तराई लगायतका जिल्लामा धमाधम रोपाइँ भइरहेको बताउनुभयो । यसवर्ष धान रोप्ने मुख्य समय साउन १५ गते अगाडि नै सम्पन्न हुने भएकाले उत्पादन वृद्धि हुने उहाँको विश्वास छ । 


प्रतिक्रिया