चितवनका मह उत्पादक किसानलाई प्रोत्साहन रकम प्रदान

मह उत्पादन राम्रो गरेका किसानहरुलाई प्रोत्साहन रकम दिंदै बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा । तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर 

असार २९, २०७७ | चितवन

अघिल्लो वर्षको भन्दा प्रति घार मह उत्पादन बढाएका किसानले प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले किसानहरुलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । 

परियोजनाले भरतपुर महानगरपालिकाका दुइ वटा वडा, कालिका नगरपालिकाका तीन वटा, खैरहनीका तीन वटा, राप्तीका १० वटा वडा र मकवानपुरको राक्सिराङ गाउँपालिकाको ६ नम्बर वडालाई मौरी जोन घोषणा गरेको छ ।

मौरी जोनमा आबद्ध भएका किसानहरुका लागि प्रोत्साहन रकम र अनुदानमा औजार उपकरणहरु वितरण भएको हो । राप्ती नगरपालिका–११ बरिमटारका पूर्णबहादुर तामाङलाई सोमबार भण्डारामा आयोजना भएको कार्यक्रममा बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ८० हजार रुपैयाँ प्रोत्साहन रकम हस्तान्तरण गर्नुभयो ।

राप्ती–११ हात्तीढापका लोकबहादुर थिङ र राप्तीकै नेपाल बी कन्सर्नका धर्मराज श्रेष्ठले पनि यति नै रकम पाए । मह उत्पादन बढाएर सबैभन्दा धेरै प्रोत्साहन रकम पाउने तीन जना हुन् उनीहरु । मौरी जोन सञ्चालक समितिका संयोजक धारामराज लामाका अनुसार कम्तिमा आठ हजार आठ सय रुपैयाँ देखि बढीमा ८० हजार रुपैयाँसम्म किसानले प्रोत्साहन रकम पाएका छन् । 

उहाँका अनुसार राप्तीका २२, खैरहनीका १६, कालिकाका १५ र राक्सिराङका ३४ जना किसानलाई प्रोत्साहन स्वरुप २१ लाख रुपैयाँ वितरण भएको छ । ‘मह उत्पादन बढाउनका लागि किसानलाई प्रोत्साहन होस भनेर पुरस्कार स्वरुप यो रकम दिएको हो ।

‘उहाँहरु त प्रोत्साहित हुनु नै हुनेछ । साथै उहाँहरुले गरेको कामबाट अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने हाम्रो आशा छ, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ चितवनका प्रमुख मेघनाथ तिमिल्सेनाले भन्नुभयो, ‘मह उत्पादनमा बिस्तारै सुधार हुँदै गएको छ ।’

परियोजनाका कृषि अधिकृत अनिल तिवारीले गत वर्षको भन्दा १० प्रतिशत उत्पादन बढाएका किसानहरुलाई प्रोत्साहन रकम दिएको बताउनुभयो । कृषि अधिकृत तिवारीले भन्नुभयो, ‘अघिल्लो वर्ष एउटा घारबाट एक वर्षमा ३८ केजीको हाराहारीमा मह उत्पादन भएको देखिन्छ । यो वर्ष जसले ४२.३ केजी मह उत्पादन गरे ती किसानहरुको घार गनेर त्यसैका आधारमा प्रोत्साहन रकम दिएका हौं ।’ एउटा घारको पौने ६ सयको हाराहारीमा प्रोत्साहन रकम प्रदान गरिएको छ ।

सबैभन्दा बढी ८० हजार रुपैयाँ बुझेका माहुरी पालक पूर्णबहादुर तमाङ १० वर्षदेखि यो क्षेत्रमा छन् । दुई जना साझेदार मिलेर २० घारबाट उनले माहुरी पालन सुरु गरेका हुन् । बवस्तारै बढाउँदै यो वर्ष माहुरीको घार संख्या तीन सय पुर्‍याएका छन् । सुरुमा एउटा घारबाट वर्षमा कति मह उत्पादन हुन्थ्यो हेक्का छैन । तर, सरदरमा ३०/३५ किलो उत्पादन हुने गरेको उनले बताए ।

किसानको मिहेनत र प्रविधिको उपयोग बढाउँदै लगे मह उत्पादन बढ्ने सम्भावना रहेको मौरी जोन सञ्चालक समितिका संयोजक धारामराज लामाले बताउनुभयो । लामा आफैले पनि २०/२२ किलोको हाराहारीमा मह उत्पादन गरेका थिए । अहिले उत्पादन दर बढ्दो रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विदेशमा एकै पटकमा ३० केजीसम्म मह निकाल्ने सुनेको छु । नेपालमा पनि धेरै नै मेहेनत गर्नेहरुले वर्षमा ६० किलो मह उत्पादन गरेका छन् ।’

जोनमा आवद्ध किसानहरुलाई यो वर्ष ५० प्रतिशत अनुदानमा मह र सामाग्री ढुवानीका लागि दुई वटा पिकअप भ्यान उपलब्ध भएको लामाले बताउनुभयो । त्यसैगरी तयारी र कच्चा मह राख्ने बाल्टिनहरु पनि वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

लामाले भन्नुभयो, ‘भण्डारन र प्रशोधनका कामहरु पनि भएका छन् । महको बजार बिस्तार र मूल्य पनि राम्रो पाउने हो भने किसानहरुलाई यो व्यवसाय निकै फाइदाजनक छ ।’

मौरी जोनमा ८४ जना किसान र ८७ वटा मौरी फार्महरु आबद्ध भएको कृषि अधिकृत अनिल तिवारीले जानकारी दिनुभयो । जोनमा आबद्ध किसान र फर्महरुले पाँच हजार २ सय २५ घार मौरी पालेका छन् ।

यो वर्ष लकडाउनका कारण माहुरी चराउन लैजान समस्या भएको उनीहरुले बताए । पानी परी रहेका कारण मौसमको राम्रो साथ पनि रहेन । तर, उत्पादन भएको मह राम्रोसँग खपत भएको मौरी जोन सञ्चालक समितिका संयोजक धारामराज लामाले बताउनुभयो ।


प्रतिक्रिया