प्रदेश १ मा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न

श्रावण ४, २०७७ | मोरङ

प्रदेश १ मा आइतबार सम्ममा ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ५६ दशमलव ७४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । 

प्रदेशका कुल धान खेती योग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जग्गा मध्ये २ लाख ८१ हजार २ सय २० दशमलव ७२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तराईका २ लाख २५ हजार ८ सय हेक्टर मध्ये ८५ दशमलव ७२ प्रतिशत अर्थात् १ लाख ९३ हजार ५ सय ५५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ७५ दशमलव ३२ प्रतिशत अर्थात् ६८ हजार ४ सय ७८ दशमलव ५२ र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये ७९ दशमलव ५७ प्रतिशत अर्थात् १९ हजार १ सय ८७ दशमलव २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी झापा र सोलुखुम्बुमा ९० प्रतिशत र सबभन्दा कम ओखलढुंगामा ५५ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो । मोरङ, तेह्रथुममा ८५, भोजपुरमा ८४, सुनसरी र खोटाङमा ८०, पाँचथरमा ७८, तेह्रथुम र संखुवासभामा ७५, इलाममा ७२, उदयपुरमा ७१ र धनकुटामा ७० प्रतिशत रोपाइँ भएको उहाँले बताउनुभयो ।

प्रवक्ता उप्रेतीले यसपाली केही दिनदेखिको अविरल वर्षाका कारण पहडी जिल्लाको केही भागमा रोपाइँ प्रभावित भएपनि तराई लगायतका जिल्लामा धमाधम रोपाइँ भइरहेको बताउनुभयो । यसवर्ष धान रोप्ने मुख्य समयमा लगातार वर्षा भइरहेकोले साउन १५ गते अगाडि नै रोपाइँ सम्पन्न हुने उहाँको भनाई छ । 


प्रतिक्रिया