नेप्से १४ अंकले घट्यो, २ अर्ब बढीको कारोबार

श्रावण ५, २०७७ | काठमाडौं

धितोपत्र बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा सोमबार गिरावट आएको हो । 

बजार परिसूचक नेप्से आज १४ दशमलव ९ अंकले घटेर एक हजार चार सय ६४ दशमलव ९४ बिन्दुमा पुगेको छ । बजार खुलेको केहीसमय पछिनै नेप्से ७४ अंकले बढेपछि सर्किट ब्रेकर लगाएर कारोबार २० मिनेटको लागि स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार थप १ प्रतिशत बढेपछि कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो । 

दोस्रो सर्किट ब्रेकरपछि केही सम्हालिएको नेप्से निरन्तर घटेर बन्द भएको थियो । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा उल्लेख्य सुधार देखिएको छ । हिजो ८४ अंकले बढेको नेप्सेमा ६ करोड रुपैयाँ बढीको मात्र कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका बैंकिङ, विकास बैंक, वित्त र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक एक सय ८८ दशमलव ६५ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ८१ कम्पनीका ३३ हजार ४ सय ३३ कारोबारबाट ७० लाख १ हजार २ सय ५८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया