बिहीबार नेप्से १० अंकले बढ्यो, कारोबार रकम घट्यो

श्रावण ८, २०७७ | काठमाडौं

गत सोमबारबाट तीन दिन लगातार ओरालो लागेको धितोपत्र बजारमा बिहीबार भने सुधार देखिएको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसूचक नेप्से १० दशमलव १३ अंकले बढेर एक हजार ४ सय ४२ दशमलव ६१ बिन्दुमा पुगेर बन्द भएको छ । 

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ३२ करोड रुपैयाँले कमी आएको छ । बुधबार १७ अंकले ओरालो लागेको नेप्सेमा एक अर्ब ५३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

बिहीबार नेप्सेमा कारोबार भएका विकास बैंक र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ८५ दशमलव ७ अंकले बढेको छ । 

यस्तै, जीवन बीमाको १ सय ५४ दशमलव ६७, होटलको ४२ दशमलव ५५, लघुवित्तको २७ दशमलव ६५ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक १७ दशमलव ८५ अंकले उकालो लागेको छ ।

कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा कुल १ सय ८७ कम्पनीका २८ हजार ६ सय ४९ कारोबारबाट ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया