बैंकको साँवा–ब्याज भुक्तानीका लागि २ वर्षसम्मको म्याद

श्रावण १२, २०७७ | काठमाडौं

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट अति प्रभावित होटल लगायत पर्यटन व्यवसायीलाई साँवा–ब्याज भुक्तानीको लागि २ वर्षसम्म म्याद थप गरेको छ । बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने साँवा–ब्याज भुक्तानीका पर्यटन व्यवसायीले २ वर्षसम्म समय पाएका हुन् । 

राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ । यसका आधारमा तीन महिनादेखि एक वर्षसम्मको म्याद दिएको छ । तर, होटल लगायत पर्यटन क्षेत्रका लागि भने २ वर्ष सम्मको समय दिइएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमा आएका व्यवस्था कार्यान्वयनका लागि आज परिपत्र जारी गर्दै राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।

नयाँ व्यवस्था अनुसार न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज आगामी पुस मसान्त सम्ममा भुक्तानी गर्न सुविधा पाएका छन् ।

मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकम आगामी चैत मसान्त सम्ममा भुक्तानी गर्न समय दिएको छ । 

यस्तै, अति प्रभावित क्षेत्रमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकम २०७८ असार मसान्त सम्ममा भुक्तानी गर्न समय दिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया