५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

श्रावण १५, २०७७ | काठमाडौं

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयातका लागि स्वीकृति दिएको छ । 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ५० प्रतिशत छुटमा चिनी आयातका लागि स्वीकृति दिएको जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई २० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुट गरी आयात गर्न स्वीकृति दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, बैठकले एसियाली विकास बैंक एडीबीले दिने ५० मिलियन अमेरिकी डलर अर्थात ५ अर्ब ९६ करोड रुपैयाँ बराबरको ऋण तथा अनुदान सहायता सम्बन्धी विषयमा वार्ताका लागि वार्ता टोली गठन गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो । 

बाढीको जोखिम व्यवस्थापन आयोजनाको कार्यान्वयनका लागि एडीबीबाट प्राप्त हुने ऋण तथा अनुदान सहायता सम्बन्धी विषयमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । 


प्रतिक्रिया