लकडाउनका कारण स्थानीय तरकारीले मूल्य पायो

भाद्र ७, २०७७ | भोजपुर

कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि छिमेकी जिल्लाहरुले लकडाउन गरेसँगै भोजपुरमा उत्पादित तरकारीले मूल्य पाउन थालेका छन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट तरकारीको ढुवानी बन्द भएपछि स्थानीयस्तरमा उत्पादित तरकारीको खपत बढेको हो । 

तराई र भारतबाट तरकारी ढुवानी बन्द भएपछि स्थानीय कृषि उपजले मूल्य पाएको व्यापारीहरु बताउँछन् । जिल्लामा उत्पादित तरकारी स्थानीयस्तरमै राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकहरु हर्षित भएका छन् । लकडाउनले बाहिरबाट तरकारी खपत बन्द भएपछि आफ्नै बारीका टमाटर, सिमी, काँक्रा, खुर्सानी लगायत मौसमी तरकारीले राम्रो मूल्य पाएको भोजपुर नगरपालिका–५, बोखिमकी प्रतीक्षा श्रेष्ठले सुनाईन् । 

‘विगतमा बाहिरबाट ल्याएको तरकारीले बारीको तरकारी बिक्री गर्न मुस्किल हुन्थ्यो । घर फर्काउनुपथ्र्यो, अहिले लकडाउनका कारण तरकारीले राम्रो भाउ पाएको छ’ उनले भनिन्, ‘अहिले बेच्न ल्याएका सबै तरकारी बिक्छन् ।’ अहिले हप्तामा एक हजार देखि २५ सय रुपैयाँसम्म तरकारी बिक्री हुने गरेको उनले सुनाईन् ।

बाहिरी जिल्लाले निषेधाज्ञा जारी गरेपछि सम्बन्धित सरोकारवाला निकायले स्थानीय उत्पादनको प्राथमिकता र बजारीकरण बढाएका कारण कृषि उत्पादनले बजार पाएको व्यापारीहरु सुनाउँछन् । जिल्लामा शनिबारे र बुधबारे गरी हप्ताको २ पटक लाग्ने सदरमुकामको हटियामा तरकारीको मूल्य पनि वृद्धि भएको छ । बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुन थालेको अर्का तरकारी व्यापारी सुवास प्रधान सुनाउँछन् । 

उनले भने, ‘टनेलमा लगाएको बेमौसमी टमाटर पहिले प्रतिकेजी ४० रुपैयाँमा बिक्री हुन्थ्यो । तर, यो लकडाउनले अहिले प्रतिकेजी २ सय ४० रुपैयाँसम्म बेचेँ ।’ कोरोना भाईरसका कारण खोटाङ, धनकुटा, संखुवासभा, उदयपुरमा लकडाउन छ । बन्दले बाह्य कृषि उपज नभित्रिएपछि किसानले राम्रो आम्दानी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले पनि स्थानीय कृषि उपजको बिक्री वितरणमा सहुलियत प्रदान गरेको छ । जिल्ला प्रवेशमा कडाई गरिएको र स्थानीय उत्पादन बेचबिखनमा भने हाट बजारमा कुनै प्रतिबन्ध नलगाएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुँईटेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘तराई र भारतबाट आउने तरकारी ढुवानी गर्ने गाडीहरुबाट आउने भएकाले संक्रमण पनि फैलिन सक्ने सम्भावना भएपछि स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो सोच हो, हामीले आह्वान गरेका विषयहरुमा सजकता अपनाई सहयोग गरिदिन पनि आग्रह गरेका छौँ ।’


प्रतिक्रिया