व्यापार घाटा १२ प्रतिशतले घट्यो

मंसिर ९, २०७७ | काठमाडौं

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा व्यापार घाटामा साढे १२ प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङक अनुसार कात्तिक मसान्तसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ अर्ब ७२ करोड ९७ लाख १७ हजार रुपैयाँले कम हो । कोरोना माहामारीका कारण पेट्रोलियम पदार्थ, सवारी साधन लगायतको आयात घट्दा व्यापार घाटामा सुधार देखिएको हो । पहिलो चार महिनामा आयात १० दशमलव ६२ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ । 

भारतलगायतका मुलुकबाट ४ खर्ब २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामाग्री आयात भएको छ भने मुलुकबाट ४० अर्ब २० करोड ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङक छ ।

भारतबाट सबैभन्दा धेरै २ खर्ब ६४ अर्ब ९ करोड ५८ लाख २१ हजार रुपैयाँ बराबरको बस्तु तथा सामाग्री आयात भएको छ भने मुलुकबाट २७ अर्ब ८६ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङक छ । यस्तै चीनबाट ६० अर्ब १२ करोड १ लाख ७५ हजार रुपैयाँ बराबरको आयात हुदा २९ अर्ब ३२ हजार रुपैयाँको निर्यात भएको छ ।


प्रतिक्रिया