ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जोशी र न्याछ्योंबीच प्रतिस्पर्धा

पुस ११, २०७७ | ललितपुर

ललितपुर उद्योग वाणिज्य संघ निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । संघको ४१ औ वार्षिक साधारण सभाको अवसरमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि भरतलाल जोशी र मनोजबहादुर न्याछ्योंको उम्मेदवारी परेको हो । 

वरिष्ठ उपाध्यक्षमा जोशीको प्यानलबाट बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरुमा उद्योग तर्फबाट अमिरराज ताम्रकार, वाणिज्य तर्फबाट उसन बज्रचार्य, संस्थागत तर्फबाट राजेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ । 

न्याछ्योंको प्यानलबाट महासचिवमा रुपकमान महर्जन, कोषाध्यक्षमा सविनलाल प्रधानको उम्मेदवारी परेको छ । जोशीको प्यानलबाट महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले दिएका छन् । भूमिनन्दन कर्माचार्यले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्यमा उद्योगतर्फबाट ६ जना, वाणिज्य तर्फबाट ७ जना, संस्थागत र एशोसिएट तर्फबाट एक/एक जना रहने व्यवस्था छ । 

उम्मेदवारी भने उद्योगतर्फबाट १२ जना, वाणिज्यतर्फ १३ जनाको परेको छ । संस्थागत क्षेत्रबाट पूर्ण बहादुर महर्जन र एशोसिएट क्षेत्रबाट नवीनमान श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

संघमा उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएटतर्फबाट गरी चार जना रहने व्यवस्था छ । उपाध्यक्ष (एशोसिएट) का लागि विधानको दफा ६ र ३ मा कम्तीमा ५० वटा एशोसिएट सदस्य पुगे मात्र पदको व्यवस्था हुने प्रावधान भएकाले संघमा सो संख्या नपुगेको हुँदा सो पद रिक्त रहने भएको छ । 

मतदान पुस १८ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म पाटनमा हुनेछ । मतगणना मतदान सम्पन्न भएपछि सुरु गरिने र निर्वाचन परिणाम मतगणना सम्पन्न भएपछि गरिने समितिले जनाएको छ । समितिका अनुसार एक हजार ३ सय २० जनाले मतदान गर्ने छन् । 

उम्मेदवारहरुले मतदाताहरुलाई आ–आफ्नो प्यानललाई बहुमतले जिताउन आग्रह गरेका छन् । आफूहरु जितेमा संघलाई अझै बलियो बनाउने दुबै पक्षको दाबी छ । उम्मेदवारहरुले आफू जितेमा संघलाई अझै बलियो बनाउने तथा ललितपुरको मुहार फेर्न, व्यापार र व्यवसायीको आर्थिक विकासका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया