उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा विजयी

पुस २५, २०७७ | तिलोत्तमा

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण प्रसाद शर्मा विजयी हुनु भएको छ । शर्माले सिद्धार्थनगर उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिनु भएको थियो । 

शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको हो । शर्माले जिल्ला नगरतर्फ २२ र एशोसिएट तर्फ ७८ मत प्राप्त गर्नुभयो । 

उहाँका निकटतम प्रतिद्वन्दी सुरेन्द्रप्रसाद श्रेष्ठले जिल्ला नगरतर्फ ८ र एशोसिएट तर्फ २३ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिनुभयो । जिल्ला नगरबाट ३० र एशोसिएटबाट जम्मा १ सय १२ मत खसेको थियो ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्ष बाहेक बाँकी पदमा भने यस अघि नै निर्विरोध चयन भएको थियो । समितिको दोस्रो अधिवेशनबाट दुई उपाध्यक्ष मध्ये जिल्ला नगरको तर्फबाट रोल्पा उद्योग वाणिज्य संघका बालकृष्ण सुवेदी निर्वाचित हुनु भएको छ । 

एशोसिएट तर्फको उपाध्यक्षमा रोहिणी ईन्भेष्टमेन्ट प्रालि रोहिणी रुपन्देहीका दिपक कुमार पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, कोषाध्यक्षमा देउखुरी उद्योग वाणिज्य संघको तर्फबाट रत्नप्रसाद श्रेष्ठ निर्वाचित हुनु भएको छ । 

कार्यकारिणी सदस्यतर्फ जिल्ला नगरबाट ५ सदस्यमा ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्र प्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भीमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, बर्दिया) तथा दुई एशोसिएट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपाल प्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का चुनिएका हुन् ।


प्रतिक्रिया