नेप्सेमा फेरि नयाँ कीर्तिमान

पुस २९, २०७७ | काठमाडौं

पछिल्लो केहीदिन यता सेयर बजारले दिनहुँ नयाँ कीर्तिमान कायम गर्दै आएको छ । कारोबारको चौंथो दिन आज नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

सेयर कारोबार मापक नेप्से परिसूचक आज १८ दशमलव ८१ अंकले उकालो लागेर २ हजार २ सय ८६ दशमलव ५४ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । लकडाउनपछि खुलेको बजारले पटकपकट नयाँ रेकर्ड बनाउँदै आएको छ ।

यसअघि मंगलबार नेप्से २८ दशमलव ३१ अंकले बढेर सर्वाधिक २ हजार २ सय ६७ दशमललव ७३ बिन्दुमा पुगेको थियो । नेप्सेमा सुधार देखिएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ९३ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्सेमा मंगलबार ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कुल २ सय ७ कम्पनीको ५० हजार ९ सय ५० कारोबारबाट १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर किनबेच भए । जसअन्तर्गत, ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा आज कारोबार भएका बैंकिङ र विकास बैंक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । वित्त कम्पनी समूहको उपसूचक सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले बढेको छ । 

यस्तै, उत्पादन तथा प्रशोधनको ४ दशमलव २३, लघुवित्तको २ दशमलव ७५ र जलविद्युत कम्पनी समूहको उपसूचक १ दशमलव ७२ प्रतिशतले बढेको छ । बैंकिङ समूहको शून्य दशमलव १८ र होटल समूहको शून्य दशमलव २८ प्रतिशतले ओरालो लागेको छ । 

बुधबार कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख २४ हजार ९४० रुपैयाँ बराबरको कारोबार भयो । 


प्रतिक्रिया