भारतबाट ठूलो परिमाणमा चिनी आयात

फाल्गुन ११, २०७७ | पर्सा

किसानले आफूले उत्पादन गरेको उखुको बक्यौता भुक्तानी पाउन आन्दोलनमा रहेका बेला व्यवसायीले भने भारतबाट ठूलो परिमाणमा चिनी आयात गरिरहेका छन् । भारतबाट चिनी आयात गर्नेमा केही चिनी उद्योगदेखि ठूला व्यापारी समेत छन् । 

पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १० करोड रुपैयाँ बढीको चिनी आयात भएको छ । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा गरे लगत्तै सो नाकाबाट धमाधम चिनी भित्रिन थालेको हो । 

गत साउन १ गतेदेखि माघ मसान्त सम्मको अवधिमा सो नाका हुँदै विभिन्न आयातकर्ताले २ अर्ब १० करोड ४९ लाख ६२ हजार ८ सय ८२ रुपैयाँ बराबरको ४ करोड ३५ लाख १२ हजार ८ सय ५ किलो चिनी आयात गरेका छन् । जसबाट ५४ करोड २९ लाख ३ हजार ६ सय ३२ रुपैया राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको यसै अवधिमा सरकारले लगाएको परिमाणात्मक बन्देज कायमै रहेका कारण सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट चिनी आयात भएको थिएन । स्वदेशी चिनी उद्योगलाई प्रोत्साहित गर्न भनि सरकारले २०७५ असोज १ गतेदेखि चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । 

मन्त्रिपरिषदले २०७५ बैशाख १ गतेदेखि चैत मसान्तसम्मको लागि कुल ९४ हजार ९ सय मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्ने चिनीमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले सरकारले गत वर्ष चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज असार मसान्तदेखि फुकुवा गरे लगत्तै सो नाकाबाट चिनी आयात हुन थालेको बताउनुभयो । यस अवधिमा दशैं, तिहार तथा छठ जस्ता पर्वलाई लक्षित गरी आयातकर्ताले ठूलो परिमाणमा चिनी आयात गरेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया