बंगलादेशबाट आयात गरिएको मल वीरगञ्ज आइपुग्यो

फाल्गुन २५, २०७७ | पर्सा

नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलको पहिलो लट वीरगञ्ज आईपुगेको छ । कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीका अनुसार करीब २ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आईपुगेको छ । 

हाल बंगलादेशले दिएको ५० हजार मेट्रिक टन युरिया मलमध्ये २२ हजार ५ सय मेट्रिक टन युरियाको पहिलो लट भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल आउन लागेको हो । २२ हजार ५ सय मेट्रिक टनमध्ये ५ हजार ६ सय २५ मेट्रिक टन कोलकाताबाट सोझै ट्रकमा विराटनगर लगिने छ । 

बाँकी ९ हजार मेट्रिक टन युरिया मल वीरगञ्जको सीमा पारी भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा आउने क्रममा रहेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख केसीले बताउनुभयो । त्यहाँबाट ट्रकमा ढुवानी गरी मल वीरगञ्ज सम्म ल्याइने छ । 

सिर्सिया सुक्खा बन्दरगाहमा रेलबाट ७ हजार ८ सय ७५ मेट्रिक टन युरिया मल ल्याइने छ ।


प्रतिक्रिया