वीरगञ्ज नाकाबाट मरिच र छोकडाको आयात घट्यो

फाल्गुन २६, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मरिच र छोकडाको आयात ह्वात्तै घटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिबन्धपछि सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मरिच र छोकडाको आयात घटेको हो । 

स्वदेशको माग भन्दा अत्यधिक आयात गरी भारततर्फ तस्करी गर्ने गरेको पाईएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७६ चैत १९ को पत्रपछि सो नाकाबाट मरिच, छोकडा, केराउ, सुपारी आदि वस्तुको आयातमा रोक लगाएको थियो । 

चालू आर्थिक वर्षको फागुन २३ गते सम्ममा सो नाका हुँदै १७ करोड ४० लाख ५१ हजार ७ सय १४ रुपैयाँ बराबरको ४ लाख १२ हजार २ सय ४४ किलो मरिच आयात भएको छ । जसबाट ३ करोड ९२ लाख १९ हजार ९ सय १६ रुपैयाँ राजश्व संकलन भएको छ । 

बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्ंक अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै २ अर्ब ८४ करोड २६ लाख ८४ हजार ५ सय १० रुपैयाँ बराबरको ६६ लाख ९२ हजार ८ सय २० किलो मरिच आयात भएको थियो । जसबाट ९४ करोड ३८ लाख ८२ हजार १ सय ६७ रुपैयाँ राजश्व संकलन भएको थियो । 

उद्योग विभागको सिफारिशमा मरिच प्रयोग गर्ने डाबर नेपाल तथा विभिन्न चाउचाउ उद्योगले कोटा तोकेर मरिच आयात गर्न पाएपनि छोकडाको हकमा भने अझै बन्देज कायमै छ । गत आर्थिक वर्षमा सो नाका हुँदै १ अर्ब १९ करोड १३ लाख ११ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ४५ लाख ७ हजार ९ सय ६० किलो छोकडा आयात भएको थियो । जसबाट ३१ करोड ४२ लाख ६४ हजार १ सय ९० रुपैया राजश्व संकलन भएको थियो । 

चालू आर्थिक वर्षको फागुन २३ गतेसम्म सो नाका हुँदै ६ करोड २८ लाख ७६ हजार २ सय ३५ रुपैयाँ बराबरको ७ लाख ३६ हजार ७ सय १५ किलो छोकडा आयात भएको छ । जसबाट १ करोड ५५ लाख ९५ हजार ८ सय ९५ रुपैयाँ राजश्व संकलन भएको छ । 

चालू आर्थिक वर्षमा आयात भएको छोकडा वाणिज्य मन्त्रालयले रोक लगाउनु अघि नै सिपमेन्ट भईसकेका र भारतको विभिन्न रेल मार्गमा रहेका हुन् । नेपालमा मरिच भियतनामबाट र छोकडा पाकिस्तानबाट आयात हुने गर्छ । 


प्रतिक्रिया