समृद्धिका लागि उत्पादनमा वृद्धि गरौं : पूर्व अर्थमन्त्री महत

फाल्गुन २९, २०७७ | तनहुँ

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकलाई समृद्धितर्फ लैजान राज्यले कृषिसँगै अन्य उत्पादनका क्षेत्रलाई वृद्धि गर्नुपर्ने बताउनु भएको छ । तनहुँको दमौलीमा शनिबार आयोजित नेपाल वितरक महासंघको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रसँगै उद्योग व्यवसायको उत्पादनलाई वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

उद्योगहरुको उत्पादन वृद्धि भएपछि देशमा व्यवसाय र वितरणको दायरा पनि बढ्ने हुँदा यस क्षेत्रमा पूँजीगत लगानि वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । डा. महतले भन्नुभयो, ‘सरकारले स्वदेशी तथा विदेशी पूँजीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’ 

उत्पादन बढेसँगै वितरण क्षेत्र बढ्दै जाने हुँदा आयश्रोत र रोजगारीको वातावरण पनि सिर्जना हुने पूर्व अर्थमन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिफल निस्कने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो, जनताको रोजगारी, आम्दानीको स्रोत बढाउँदै जीवनस्तर उकास्न सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने र यसका लागि सरकारको मुख्य भूमिका हुन्छ ।’ 

अधिकृत विक्रेता संघ तनहुँको व्यवस्थापनमा आयोजित साधारण सभामा ४४ जिल्लाका करीब पाँच सय जना अधिकृत विक्रेताका प्रतिनिधि तथा प्रवेक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. महतले उद्योग, व्यवसाय क्षेत्रमा अत्यधिक राजनीतिकरण नगरी सम्बन्धित क्षेत्रका विज्ञ र व्यक्तिले नेतृत्व गर्नुपर्ने बताउनुभयो । 

उद्योग व्यवसायीहरुको शोषण गर्न नहुने भन्दै उहाँले व्यवसायीहरुलाई सही ढंगले आयकर तिर्न समेत आग्रह गर्नुभयो । ‘उद्योग व्यवसाय क्षेत्रको प्रवर्धनका लागि उचित किसिमको कानून निर्माण गरी सहि ढंगले कार्यान्वयनमा ल्याउनु पर्छ’, उहाँले भन्नुभयो, ‘व्यवसायीहरुले वैधानिक रुपमा नाफा कमाउने र कमाएको नाफा बापत आयाकर तिर्नुपर्छ ।’ 

कोरोना कहरका कारण व्यवसायिक गतिविधि ठप्प भएको चर्चा गर्दै पूर्व अर्थमन्त्री डा. महतले उद्योग तथा व्यवसायीहरु अब प्रविधि मैत्री बन्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसाय बढाउन तथा, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अब हामी प्रविधिमैत्री बन्दै अगाडि बढ्नुपर्छ र यसका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ 

नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष शुरेस अधिकारी लगायत वक्ताले वितरण महासंघलाई सरकारले अन्य व्यवसायी सरह हेर्न नहुने बताउनुभधयो । व्यवसायीहरुले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको भन्दै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्का हुने स्थिति नरहेको गुनासो गरेका छन् ।


प्रतिक्रिया