क्लिंकर लोड अनलोडका लागि संघद्वारा २ विकल्प सुझाव

चैत्र २, २०७७ | पर्सा

भारतबाट आयात गरिने क्लिंकर लोड अनलोडका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले २ वटा विकल्प सुझाएको छ । पर्सा–बारा औद्योगिक करिडोरका सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर भण्डारणमा सहजताका लागि भारतीय परामर्शदाता कम्पनीले सुझाव मागेपछि संघले भारत तथा नेपालको आईसीपी परिसर र सिर्सिया सुक्खा बन्दरगाह बीचको जग्गा गरी २ वटा विकल्प सुझाएको हो । 

अन्सर्ट एन्ड योङ्ग एलएलपी नामक दिल्लीको परामर्शदाता कम्पनीले गरेको सर्वेक्षणको क्रममा संघले भारत तथा नेपाल आईसीपी परिसर र सिर्सिया सुक्खा बन्दरगाह बीचको जग्गा गरी २ वटा विकल्प सुझाएको संघका महासचिव माधव राजपालले जानकारी दिनुभयो । भारतीय परामर्शदाता कम्पनीले गत साता भारतीय एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा आएर सर्वेक्षण गर्नुका साथै यस सम्बन्धमा सुझाव माग गरेको राजपालले बताउनुभयो । 

तत्कालका लागि भारतीय आईसीपी परिसर र नेपालतर्फ सरकारले अधिग्रहण गर्न लागेको सिर्सिया सुक्खा बन्दरगाह र आईसीपी बीचको करीब ६२ बिघा जग्गा यसको विकल्प हुन सक्ने संघका महासचिव राजपालले जानकारी दिनुभयो । दुबै स्थानमा भारतीय रेल्वेले रेल्वे लिक बिस्तार गरी त्यहाँसम्म मालबाहक रेलको आवागमनको व्यवस्था मिलाउन सकिने राजपालको भनाई छ । 

हाल सिर्सिया सुक्खा बन्दरगाहसम्म भारतीय रेलमार्गको लिकको पहुँच रहेको छ । भारतीय आईसीपी वा नेपाल सरकारले अधिग्रहण गर्न लागेको जग्गामा त्यहाँबाट रेल्वे लिकको सञ्जाल बिस्तार गर्न थप १ देखि २ किलोमिटर मात्र रेल्वे लिक निर्माण गरे पुग्छ । 

करीब ३ वर्ष अघि वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशन वरपरका बासिन्दाले अवरोध गरेपछि नेपाली सिमेन्ट उद्योगको प्रमुख कच्चा पदार्थ क्लिंकरको आयात र ढुवानीमा अवरोध भएको थियो । त्यसको प्रत्यक्ष मार नेपाली सिमेन्ट उद्योगहरुलाई परेको छ । 

रक्सौलबाट करीब १ सय किलोमिटर टाढा नारायणपुर रेल्वे स्टेशनमा क्लिंकर ल्याएर त्यहाँबाट ढुवानी गरेर नेपाल ल्याउदा नेपाली सिमेन्ट उद्योगलाई ढुवानी लागत बढी परी रहेको छ । हाल प्रति टन क्लिंकर ढुवानीमा भारु ८ सय देखि १ हजार रुपैयाँ सम्म बढी खर्च लाग्ने गरेको छ । 


प्रतिक्रिया