१० हजार मेट्रिक टन बंगलादेशी युरिया मल वीरगञ्ज आइपुग्यो

चैत्र १०, २०७७ | पर्सा

नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मध्ये १० हजार मेट्रिक टन मल वीरगञ्ज आईपुगेको छ । पहिलो लटको २२ हजार ५ सय मेट्रिक टन मध्ये एक साता यता वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा २ वटा र सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ र्‍याकमा गरी कुल ४ रेल्वे र्‍याकबाट १० हजार मेट्रिक टन युरिया मल वीरगञ्ज आईपुगेको हो । 

कृषि सामग्री कम्पनी प्रदेश स्तरिय कार्यालय वीरगञ्जका निमित्त प्रमुख योगेन्द्र पराजुलीका अनुसार रक्सौल रेल्वे स्टेशनमा आएको मल ट्रकबाट ढुवानी गरी वीरगञ्जसम्म ल्याइँदै छ । हाल आउँदै गरेको मल मध्ये वीरगञ्ज प्रादेशिक कार्यालयले ९ हजार मेट्रिक टन, भैरहवा कार्यालयले ९ हजार ८ सय ७५ मेट्रिक टन र विराटनगर कार्यालयले ५ हजार ६ सय २५ मेट्रिक टन मल पाउने छ । 

वीरगञ्ज कार्यालयले पाउने ९ हजार मध्ये ४ हजार मेट्रिक टन युरिया मल वीरगञ्जस्थित गोदाममा भित्र्याई सकेको पराजुलीले जानकारी दिनुभयो । भैरहवा जाने मल पनि छिट्ट त्यसतर्फ ट्रकबाट ढुवानी गरिने कृषि सामग्री कम्पनी प्रदेश स्तरिय कार्यालय वीरगञ्जका निमित्त प्रमुख पराजुलीले बताउनुभयो । 

वीरगञ्ज र भैरहवाको मल वीरगञ्ज नै आउदै छ भने विराटनगरको मल सोझै कोलकाताबाट ट्रकमा विराटनगर तर्फ लगिंदै छ । बंगलादेशबाट कोलकाता बन्दरगाह आईपुगेको मल बंगलादेशकै सप्लायर कम्पनी देश ट्ेरडिङ्गले त्यहाँसम्म ल्याएको हो । ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि नेपाल र बंगलादेश सरकारबीच गत पुसमा सम्झौता भएको थियो ।


प्रतिक्रिया